जथाभावी हर्न बजाउने ३४ हजार चालकलाई कारवाही
काठमाडौं, चैत १ : ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारी चालकलाई कारवाही गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले....

काठमाडौं, चैत १ : ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारी चालकलाई कारवाही गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत वैशाखदेखि फागुनसम्म काठमाडौं उपत्यकामा जथाभावी हर्न बजाउने चालकलाई कारवाही गरेको हो।
महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर रूपले बढेको र उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि ०७४ वैशाख १ देखि हर्न निषेध गरेको थियो।
महाशाखाका प्रमुख वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीमा बाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको बताए।
‘उपत्यकामा धेरै सवारीसाधनसँगै हर्न बजाउने सवारीसाधनको संख्या बढेको छ, त्यसैले महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई कडाइ गरेको छ,’ उनले भने।
ध्वनि प्रदुषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरणशक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने गरेपछि हर्नमा प्रतिबन्ध लगाइएको हो।
यस्तै, ट्राफिक प्रहरीले ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदुषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन वातावरण विभागलाई सिफारिशसमेत गरेको छ । महाशाखाले ध्वनि प्रदुषण गरेवापत एउटा सवारीसाधनबाट पाँच सय रुपैयाँ जरिवाना गराउँदै आएको छ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् भने काठमाडौं उपत्यकामा मात्र आठ लाख सवारीसाधन सञ्चालनमा छन् । (रासस)











