आगामी वर्षको बजेट करिब १५ खर्ब
काठमाडौं, चैत १ : आगामी आर्थिक वर्षको बजेट करिब १५ खर्बको हाराहारीमै हुने भएको छ । राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेटको अधिकतम सीमा तोकेको हो ।<....
काठमाडौं, चैत १ : आगामी आर्थिक वर्षको बजेट करिब १५ खर्बको हाराहारीमै हुने भएको छ । राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेटको अधिकतम सीमा तोकेको हो ।
आयोगले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि १४ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सिलिङ अर्थ मन्त्रालयमा पठाएको छ । आयोगको स्रोत समितिले चालु आर्थिक वर्ष ०७५/७६ को भन्दा आगामी वर्षको बजेट १५ प्रतिशत मात्रै बढाएर सिलिङ तयार पारेको हो ।
सरकारले चालु आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर, बजेटको अर्द्धवार्षिक समीक्षामार्फत आकार घटाएको थियो । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट घटाएर १२ खर्ब ९९ अर्ब रुपैयाँ मात्रै हुने संशोधन गरेको थियो ।
योजना आयोगले राजस्व संकलनमा पनि २० प्रतिशत बढाउने गरी सिलिङ तयार पारेको छ । आगामी वर्ष राजश्वको लक्ष्य ११ खर्ब रुपैयाँको राखिएको छ । चालु आर्थिक वर्षमा नौ खर्ब १७ अर्ब रुपैयाँ मात्रै रहेको छ । जुन रकम विनियोजनको ९१.२ प्रतिशत हुन आउँछ ।
चालू आर्थिक वर्षको अर्द्धधवार्षिक समीक्षा सार्वजनिक गर्दै ११ खर्ब ९९ अर्ब १५ करोड मात्रै खर्च हुने संशोधित अनुमान छ । यस अनुसार, यस वर्षको अन्त्यसम्ममा चालू खर्च सात खर्ब ९८ अर्ब ४४ करोड, पुँजीगत खर्च दुई खर्ब ६५ अर्ब २६ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फको बजेट एक खर्ब ३५ अर्ब ४४ करोड रुपैयाँमात्रै खर्च हुने अनुमान छ ।
यस वर्ष आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ चालु खर्चको लक्ष्य रहेकोमा आठ महिनामा चार खर्ब तीन अर्ब १५ करोढ ३९ लाख रुपैयाँ खर्च भएको छ । जुन लक्ष्यको ४८.०१ प्रतिशत हो ।
त्यस्तै, पुँजीगत खर्च भने ८५ अर्ब ९६ करोड रुपैयाँ मात्रै खर्च भएको छ । जुन लक्ष्यको २७.३८ प्रतिशत मात्रै खर्च हो ।






