राप्रपाको रथयात्राले उपत्यकामा परिक्रमा गर्दै
काठमाडौं, चैत १ : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज काठमाडौं उपत्यकाको परि....

काठमाडौं, चैत १ : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज काठमाडौं उपत्यकाको परिक्रमापछि समापन हुँदैछ ।
ललितपुरबाट बिहान साढे ७ बजे शुरु भएको रथयात्रा भक्तपुर पुगेको छ । रथमा राप्रपा अध्यक्ष कमल थापासहित सो पार्टीका नेताहरू छन् ।
राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार, स्वाभिमान यात्रा बिहान ७ः३० बजे ललितपुरको जावलाखेलबाट शुरु भएको हो । उक्त रथयात्रा लगनखेल–सातदोबाटो–ग्वार्को–कोटेश्वर हुँदै जडिबुटी–लोकन्थली–पुरानो ठिमी–सल्लाघारी–नगरकोट जाने बाटो हुँदै व्यासी–कमलविनायक पुग्ने छ । अनि च्यामासिंह–जगाती–सूर्यविनायक चोक–सल्लाघारी–नयाँठिमी हुँदै कोटेश्वर फर्कने छ ।
कोटेश्वरबाट तीनकुने–सिनामंगल–पुरानोवानेश्वर–मैतीदेवी–डिल्लीबजार–पुतलीसडक–बागबजार–रत्नपार्क–विद्युत प्राधिकरण हुँदै प्रदर्शनीमार्ग, भृकुटिमण्डप (आमसभा स्थल) पुग्ने छ । डिल्लीबजारमा हुने कलश यात्रासहित भृृकुटिमण्डपमा आमसभामा परिणत हुनेछ ।
राप्रपाले गत फागुन १५ गते ताप्लेजुङमा शुरु गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज काठमाडौं पुग्न लागेको हो । हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे राष्ट्रिय जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, ०४७ पछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबीन, विद्यमान आरक्षणको व्यवस्थामा परिवर्तन गरी आर्थिक रुपमा विपन्नलाई आरक्षण दिइनुपर्ने लगायतका माग राखी फागुन ७ गते नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । आफ्ना मागहरूबारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची महाकाली यात्रा गरेको राप्रपाले जनाएको छ ।
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले दिएको जानकारीअनुसार, राप्रपाले दुई हजार आठ सय १० किमी यात्रा १५ दिनमा तय गरेको छ । यस क्रममा साना–ठूला गरी एक सय ५० वटा सभाहरु भएको छ ।
यात्राका क्रममा हिन्दु राष्ट्रका पक्षमा देखिएको जनताको समर्थन काठमाडौं बसेर कल्पना गर्न नसकिने खालको रहेको र हिन्दु राष्ट्रको जनचाहनालाई सम्बोधन गरिनुपर्ने श्रेष्ठले बताए । राप्रपाको यात्रामा ७० वटाभन्दा बढी सवारी साधन र पाँच सय यात्रीहरु नियमित सहभागी थिए ।
राप्रपा अध्यक्ष कमल थापाले नेतृत्व गरेको यात्रामा हिन्दु, बौद्ध र किराँत धर्म झल्कने आकर्षक पशुपतिनाथ, गाई, बौद्ध स्तुपा पनि फरकफरक सवारीमा यात्रासँगै थिए । हरेक दिन कम्तीमा १० वटाका दरले भएका साना–ठूला सभाहरुमा स्थानीय र टाढा टाढाबाट समेत नागरिकको उपस्थिति रहेको थियो । प्रत्येक सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गरेका थिए ।
राप्रपाको स्वाभिमान यात्रा आज अपरान्ह १२.१५ बजे काठमाडौं भृकुटीमण्डपमा जनसभा गर्दै समापन हुनेछ । सभालाई अध्यक्ष कमल थापासहित पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन् ।











