Kathmandu Press

नयाँ वर्षमा रेल चलाउने तयारी

धनुषा, फागुन ३०ः नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल सञ्चालनको तयारीका ल....

नयाँ वर्षमा रेल चलाउने तयारी

धनुषा, फागुन ३०ः नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढेको रेल विभागले जनाएको छ।

पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि शुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

रेलमार्गमा निर्माण हुने सात स्टेसनका लागि आवश्यक एक सय ५० कर्मचारीको छनोट प्रक्रिया शुरु भएको मिश्रको भनाइ छ । मिश्रले सातै स्टेसनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको उनले बताए।

मुख्य स्टेसनमा भने केही बढी कर्मचारी आवश्यक हुनाले सोहीअनुसारको कार्यविधि निर्माणमा आफूहरु लागिपरेको मिश्रको भनाइ छ । कुर्था र खजुरीलगायत केही स्टेसनमा अन्य स्टेसनभन्दा बढी कर्मचारी राखिने छन्।

विभागले सो मार्गमा रेल सञ्चालनका लागि भारतबाट दुई रेल खरीद गर्ने जनाएको छ । रेल खरीदको प्रक्रिया पनि अन्तिम चरणमा पुगिसकेको मिश्रले बताए।

रेल्वेको इतिहास

वि.सं. १९९४ मा तत्कालीन बेलायती शासकले महोत्तरीको जंगलबाट काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किमीसम्म सञ्चालनमा थियो । वि.सं. २०५९ मा आएको बाढीबाट बिग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि जयनगर २९ किमीमा मात्र सीमित भयो।

जनकपुर–जयनगरका लागि दैनिक तीन सेवा सञ्चालन गर्दै आएको रेल्वे अन्तिम समयमा आएर एउटा सेवामा सीमित भए पनि नियमित थिएन।

शुरुमा इन्धनका रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेलले वि.सं. २०१८ देखि यात्री ओसारपसार गर्न थालेको थियो । वि.सं. २०५१ मा भारत सरकारको सहयोगमा १८ डिब्बासहित चार डिजेल पावर इञ्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको थियो।

रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ मा यसलाई नेपाल यातायात संस्थानअन्तर्गत राखियो । पछि २०२५ मा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकका रूपमा टेकजङ्ग थापा नियुक्त भएका थिए।

वि.सं. २०६१ मा रेल्वे सेवालाई नेपाल रेल कम्पनीका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएपछि नेपाल रेल्वेका रूपमा चिनिएको छ ।

ब्रोडगेजको तयारी

पुरानो न्यारोगेज रेल्वे बन्द भए पनि अहिले ब्रोडगेज रेल्वेको तयारी भइरहेको छ । सबैभन्दा कम २ फिट ६ इञ्च चौडाइ भएको लिकलाई ‘न्यारोगेज’, १ मिटर चौडाइलाई ‘मिटरगेज’ र ५ फिट ६ इञ्च चौडा भएको लिकलाई ‘ब्रोडगेज’ भनिन्छ।

लिकको चौडाइ जति बढी भयो, त्यति नै गति र सन्तुलनमा राम्रो हुने जनाइएको छ । बेलायती सरकारले स्थापना गरेदेखि नै जनकपुर रेल्वे ‘न्यारोगेज’ ट्रयाकमा चल्ने गरेको थियो । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किमी ब्रोडगेज रेल लाइनको पहिलो चरणको निर्माण अन्तिम अवस्थामा पुगेको जनाइएको छ।

पहिलो चरणअन्तर्गत जयनगरदेखि धनुषाको कुर्थासम्म रेल सेवा सञ्चालन हुनेछ । रेल कम्पनीका अनुसार अबको दुई महिनामा प्लेटफर्मसहित स्टेसन र हल्ट निर्माणले पूर्णता पाउने छ । विभागले प्रत्येक स्टेसनमा रेल्वे कम्पनीका कर्मचारीलाई खटाएको छ।

विगतमा ‘न्यारो गेज रेल’ सञ्चालनमा रहेको बेला स्टेशन घरदेखि प्लेटफर्म पुरानो ढाँचाका थिए । अहिले बनिरहेको स्टेसनको डिजाइन भारतको राइट्स कम्पनीले बनाएको डिजाइनअनुरुप नै तयार भइरहेको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्चार्ज विनोदकुमार ओझाले बताए।

जनकपुरमा स्टेशन नभएर हल्ट बनेको छ । स्टेसनमा रेलका दुई लिक हुन्छ र रेल बढी समय रोकिने गर्छ । हल्टमा एउटा मात्रै रेल लिक हुन्छ र रेल छोटो समयका लागि मात्र रोकिने गर्छ।

विगतमा जनकपुर अन्तिम स्टेसन थियो । ‘न्यारो गेज’ हुँदा तीनदेखि चारसम्म रेलको लिक बिछ्याइएको थियो । अहिले जनकपुर हल्टमा परिणत हुनाका साथै सिङ्गल लिक बिछ्याइएको छ । अन्तिम स्टेसन अब जनकपुर नभएर जनकपुरधाम उपमहानगरपालिकाकै कुर्था स्टेसन हुनेछ।

जनकपुरधाम हल्ट आकर्षक देखिएको छ । प्रदेश नं २ को राजधानीसमेत भएकाले यात्रुको चाप अन्य स्टेसन तथा हल्टभन्दा बढी हुने हुनाले प्लेट फर्मदेखि हल्टसम्मको क्षेत्रफल ठूलो बनेको छ । (रासस)

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, फागुन ३०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्