विप्लवको बन्दले देशभरको जनजीवन प्रभावित
काठमाडौं, फागुन ३० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दले बिहीबार देशभरको जनजीवन प्रभावित भएको छ । केही स्थानमा ....
काठमाडौं, फागुन ३० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दले बिहीबार देशभरको जनजीवन प्रभावित भएको छ । केही स्थानमा शंकास्पद बस्तु पनि भेटिएका छन् भने केही ठाउँमा सवारी साधानमा आगजनी गरिएको छ ।
विप्लव समूहले कैलाली र मकवानपुरमा गाडीमा आगजनी गरेको छ । कैलालीमा माइक्रोबसमा आगजनी गरेको हो भने मकवानपुरमा ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
बन्दका क्रममा पोखराका दुई स्थानमा बम भेटिएको छ । पोखराको सभागृह चोक र लेखनाथ भण्डारी रंगशाला नजिकै भेटिएको सकेट बम नेपाली सेनाले निस्कृय पारेको छ ।
त्यस्तै, गोरखामा पनि बम भेटिएको छ । गोरखा नगरपालिका–६ भिआइपी टोलमा प्रेसर कुकर बम भेटिएको छ । उक्त बम पनि नेपाली सेनाको टोलीले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, हेटौडा औद्योगिक क्षेत्रको मूलगेटमा पनि बम भेटिएको छ । स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी टोली बम भएको स्थलमा पुगेको छ । नेपाली सेनाको टोली निस्कृय पार्न आइरहेको जनाएको छ ।
विप्लवको बन्दका कारण देशभरका शैक्षिक संस्था, बजार बन्द रहेका छन् । कलकारखाना पनि बन्द छ । सरकारी कार्यालय खुलेपनि सेवाग्राही आएका छैनन् ।
त्यस्तै, देशभरको यातायात सेवा पनि प्रभावित भएको छ । देशका मुख्य शहरमा फाट्टफुट्ट दुई पांग्रे सवारी साधान चले पनि सार्वजनिक यातायातका साधन चलेका छैन् । लामो दूरीका सवारी साधान त कही पनि नचलेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि सार्वजनिक सवारी साधान फाट्टफुट्टमात्रै चलेका छन् । दुई पांग्रे र केही निजी सवारी साधान मात्रै चलेका छन् । बन्दका कारण यात्रु मर्कामा परेका छन् ।
देशभर सुरक्षास्थिति मजबुत पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग नेपाली सेनाको टोलीले पनि गस्ती गरिरहेको छ ।






