भारतीय दूतावासबाट दुई सय विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं, फागुन २९ : भारतीय दूतावासले विभिन्न विषयमा अध्ययनरत २ सय नेपाली विद्यार्थीहरुलाई स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ ।
....

काठमाडौं, फागुन २९ : भारतीय दूतावासले विभिन्न विषयमा अध्ययनरत २ सय नेपाली विद्यार्थीहरुलाई स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ ।
दूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा स्नातक तहको अध्ययनलाई अघि बढाउन जेहेन्दार नेपाली विद्यार्थीहरुलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको हो ।
यस वर्ष नेपालका ५० जिल्लाको विद्याथीहरुले एमविविएस, विडिएस, विई, विएस्सी, विविए र विकम लगायत ३६ वटा स्नातक कोर्षका लागि छात्रवृत्ति पाएका छन् ।
यी विद्यार्थीहरु मध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्ग रहेका छन् ।
बुधबार राजधानीको हायात रिजेन्सीमा आयोजित स्वर्ण जयन्ति छात्रवृत्ति समारोहमा प्रमुख अतिथि शिक्षा सचिव खगराज बरालले २ सय विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिदै उनीहरुलाई व्यक्तिगत तथा व्यवसायिक सफलता हासिल गर्न सल्लाह दिएका थिए ।
उनीहरुको सफलताले नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुर्याउनुका साथै भारत–नेपाल सम्बन्धलाई थप मजबुत बनाउने राजदुत पुरीको धारणा थियो ।
सन् २००२ मा भारत सरकारले “भारत–नेपाल आर्थिक सहकार्य” को ५० वर्ष पुरा गरेको अवसरमा यस स्वर्ण जयन्ति छात्रवृत्ति कार्यक्रम सुरुवात गरेको हो ।
यस छात्रवृत्ति कार्यक्रमको पहिलो संस्करण अन्तर्गत ५० जेहेन्दार नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा सो छात्रवृत्ति संख्या वृद्धि भइ १०० पुगेको थियो । सन् २०१२ देखि यता छात्रवृत्ति संख्या दुई गुनाले वृद्धि भएर २ सय भएको छ ।

यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत एमविविएस र विडिएसमन विद्यार्थीले पाँच वर्ष सम्म प्रति महिना ४ हजार रुपैया ४०००र र विईका विद्यार्थीले चार वर्षसम्म प्रति महिना ४ हजार रुपैया पाउनेछन् । त्यस्तै स्नातक कोर्ष अध्ययन गर्ने विद्यार्थीले तीन वर्ष सम्म प्रति महिना ३ हजार रुपैया पाउनेछन् । हाल सम्म नेपालका ७७ जिल्लका २ हजार ३ सय ५० भन्दा बढी नेपाली विद्यार्थीलाई स्वर्ण जयन्ति छात्रवृत्ति प्रदान गरिसकेको भारतीय दूतावासले जनाएको छ ।











