अर्जुनचौपारीमा नेपालमै पहिलो पटक धार्मिक होमस्टे सञ्चालन
धार्मिक होमस्टे सञ्चालनले नवग्रह धाममा आउने श्रद्धालुलाई सहज रूपमा बसोबासको सुविधा उपलब्ध गराउनुका साथै स्थानीय बासिन्दाको आम्दानी बढाउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष तिवारीको विश्वास छ । यसले धार्मिक पर्यटनलाई स्थानीय रोजगारी र आर्थिक गतिविधिसँग जोड्ने अपेक्षा गरिएको छ ।
स्याङ्जा, मंसिर १० : धार्मिक पर्यटनको क्षेत्रमा नयाँ अवधारणासहित स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा आएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नं ६ मुसुरबारीमा धार्मिक होमस्टे सञ्चालनमा ल्याइएको हो ।
धार्मिक आस्थालाई स्थानीय संस्कृति, परम्परा र आतिथ्यतासँग जोड्दै पर्यटनको दायरा फराकिलो बनाउने उद्देश्यले गाउँपालिकाले धार्मिक होमस्टे सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । उनका अनुसार नेपालका विभिन्न स्थानमा ग्रामीण तथा सामुदायिक होमस्टे सञ्चालनमा रहे पनि धार्मिक अनुष्ठान, सात्विक भोजन र आध्यात्मिक वातावरणलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यो अवधारणा नेपालमै पहिलो हो ।
नवग्रह मन्दिर दर्शन तथा पूजाआजाका लागि आउने भक्तजन र पर्यटकले अब धाम क्षेत्रमा नै बसेर धार्मिक गतिविधिमा सहभागी हुन पाउनेछन् । होमस्टेमा स्थानीय कला, संस्कृति, परम्परा र स्थानीय उत्पादनमा आधारित अर्गानिक खानपानको अनुभवसमेत लिन सकिनेछ । होमस्टेमा बास बस्नुका साथै र शुद्व शाहाकारी खानाको प्रबन्ध मिलाईएको छ । जसको एक रातको ८ सय देखि १ हजार रुपियाँ तोकिएको छ ।
धार्मिक होमस्टे सञ्चालनले नवग्रह धाममा आउने श्रद्धालुलाई सहज रूपमा बसोबासको सुविधा उपलब्ध गराउनुका साथै स्थानीय बासिन्दाको आम्दानी बढाउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष तिवारीको विश्वास छ । यसले धार्मिक पर्यटनलाई स्थानीय रोजगारी र आर्थिक गतिविधिसँग जोड्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले होमस्टे सञ्चालनका लागि कम्तीमा दुईवटा सफा पाहुना कोठा, व्यवस्थित शौचालय, स्थानीय उत्पादनमा आधारित अर्गानिक खाना, सात्विक भोजन र अनुशासित वातावरणको मापदण्ड निर्धारण गरेको छ । त्यसैगरी, साँझको समयमा भजन–कीर्तनमार्फत आध्यात्मिक वातावरण निर्माण गर्ने व्यवस्था पनि गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालका अनुसार स्थानीय सहभागितामा आधारित भएर नवग्रह क्षेत्रको विकास गर्ने योजनाअनुसार धार्मिक होमस्टे सञ्चालन गरिएको हो । यसले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत योगदान पुर्याउनेछ ।
नेपालकै पहिलो नवग्रह मन्दिर रहेको पालिकामा होमस्टे नजिकै नवग्रहेश्वर महादेव तथा त्रिरिण–मुक्ति धाम समेत रहेको छ । नवग्रहेश्वर महादेव तथा त्रिरिण–मुक्ति धाम पछिल्लो समय धार्मिक पर्यटक र श्रद्धालुको आकर्षण बन्दै गएको छ । धार्मिक होमस्टे सञ्चालनसँगै अब नवग्रह धाम केवल दर्शन र पूजाआजाको गन्तव्यमा मात्र सीमित नरही बसोबास, आध्यात्मिक अनुभव र स्थानीय संस्कृतिको समेत अनुभव लिन सकिने धार्मिक पर्यटन केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ ।
अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शनका लागि भक्तजनहरुको घुईचो लाग्ने गरेको छ ।






