उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली कामदारको अवस्था, आर्थिक सम्बन्ध, लगानी, हवाई सम्पर्क तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलगायतका विषयमा विचारविमर्श भएको थियो।
काठमाडौं, मंसिर ७ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का महामहिम राजदूत अब्दुल्ला अल शम्सीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली कामदारको अवस्था, आर्थिक सम्बन्ध, लगानी, हवाई सम्पर्क तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलगायतका विषयमा विचारविमर्श भएको थियो ।
उक्त अवसरमा उपराष्ट्रपति यादवले सन् १९७७ जनवरीमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र यूएईबीच मित्रता, सहकार्य र आपसी विश्वासमा आधारित सुमधुर सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्दै सन्तुष्टि व्यक्त गरे ।
उनले सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीलाई दुवै देशले अर्थपूर्ण र स्मरणीय ढङ्गले मनाउने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति यादवले नेपाल र यूएईबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान हुँदै आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि त्यस्ता भ्रमणहरूको निरन्तरता कायम रहने अपेक्षा व्यक्त गरे ।
भेटमा उनले रसुवा–भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीपछिको कठिन परिस्थितिमा यूएई सरकार तथा जनताबाट प्राप्त आपतकालीन राहत तथा उद्धार सामग्री सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गरे ।
सो सहयोगले प्रभावित समुदायको राहत तथा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै यसले दुई मित्र राष्ट्रबीचको साँचो मित्रताको भावना झल्काएको बताए ।
उपराष्ट्रपति यादवले करिब सात लाख नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा यूएई सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपाली नागरिकका लागि उच्च आय र सीपयुक्त रोजगारीका थप अवसर सिर्जना गर्न अनुरोध गरे । उनले यूएईको विकासमा नेपाली कामदारहरूको महत्वपूर्ण योगदान रहेको विश्वास व्यक्त गरे ।
आर्थिक सम्बन्धका सन्दर्भमा उपराष्ट्रपति यादवले कानूनको शासन, सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक रूपान्तरण वर्तमान सरकारका प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नेपाल लगानीमैत्री वातावरण निर्माण तथा प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताए ।
उनले पूर्वाधार, कृषि, स्वास्थ्य, स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृत्रिम बौद्धिकता लगायतका क्षेत्रमा यूएईको लगानी र साझेदारीलाई नेपालले स्वागत गर्ने बताए ।
उनले दुई देशबीच लगानी तथा आर्थिक साझेदारी प्रवर्धन गर्न आवश्यक सम्झौता तथा समझदारीहरूमा काम भइरहेकोमा खुसी व्यक्त गर्दै यस्ता व्यवस्थाले आर्थिक सहकार्यलाई थप पारदर्शी, व्यवस्थित र पूर्वानुमानयोग्य बनाउने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति यादवले पोखरा–दुबई–पोखरा सिधा उडान सञ्चालनका लागि फ्लाईदुबईलाई धन्यवाद दिँदै त्यसका लागि राजदूत शम्सीको पहल र योगदानको प्रशंसा गरे । साथै उनले दुबई–भैरहवा–दुबई उडान पुनः सञ्चालनका लागि आवश्यक पहल गरिदिन आग्रह गरे ।






