Kathmandu Press

फोहोरमा समृद्धिको सम्भावना खाेज्दै पोखरा, दोस्रो संस्करणको आरयू फेस्ट शुरु

फोहोरमा समृद्धिको सम्भावना खाेज्दै पोखरा, दोस्रो संस्करणको आरयू फेस्ट शुरु

पोखरा, मंसिर ३ : फोहोरबाट हरित अर्थतन्त्र र रोजगारी सिर्जनाको सन्देशसहित पोखरामा दोस्रो संस्करणको ‘आरयू फेस्ट : रि–थिंक २०२६’ शुरु भएको छ । पर्यटकीय राजधानी पोखरामा फोहोरलाई मोहोर र रोजगारीको स्रोतमा बदल्ने लक्ष्यसहित यो फेस्ट बुधबार देखि सुरु भएको हो । 

विषेशगरी ‘फोहोरलाई नयाँ दृष्टिकोणबाट हेरौँ, त्यसको मूल्य पहिचान गरौँ र पोखराको भविष्यलाई चक्रीय बनाऔँ’ भन्ने सन्देशसहित बुधबारदेखि शुरु भएको यस फेस्ट आज सम्म सञ्चालन हुनेछ ।

पोखरामा सञ्चालित ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’ अन्तर्गत आयोजित फेस्टको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा ३० ले हरेक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको बताउँदै राज्यको दायित्व वातावरण संरक्षण र आर्थिक विकासलाई सँगसँगै अघि बढाउनुपर्ने रहेको बताए । 

उनले नेपालको संविधानको अनुसूची ८ ले सरसफाइलाई स्थानीय तहको एकल अधिकार सूचीभित्र समावेश गरेको तर फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र जिम्मेवारीका रूपमा सिमित गरेर हेरिनु उपयुक्त नहुने बताए ।

उनले भने, ‘नेपालको संविधानको अनुसूची ८ ले सरसफाइलाई स्थानीय तहको एकल अधिकार सूचीभित्र समावेश गरेको छ । तर फोहोर व्यवस्थापन स्थानीय तहको मात्रै जिम्मेवारी नभई तीनै तहका सरकारको साझा दायित्व हो ।’

गण्डकी प्रदेश सरकार स्थानीय तहको संवैधानिक अधिकार र जिम्मेवारीलाई सम्मान गर्दै फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण तथा हरित अर्थतन्त्र प्रवद्र्धनका लागि आवश्यक समन्वय, सहजीकरण र सहकार्य गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । 

विषेशगरी फोहोरलाई समस्याका रूपमा मात्रै नभई कच्चा पदार्थ, उद्यम र रोजगारी सिर्जनाको सम्भावनाका रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए। मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासी भन्ने दीर्घकालीन सोचका साथ दोस्रो पञ्चवर्षीय योजना कार्यान्वयन गरिरहेको बताए । 

यस योजनाले उत्पादनमुखी तथा आत्मनिर्भर अर्थतन्त्र, सन्तुलित वातावरण, जलवायु तथा विपद् उद्यमशीलता, दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण, सुशासन र प्रभावकारी सेवा प्रवाह लगायतका विषयलाई महत्त्व दिएको स्पष्ट पारे।

प्रदेशको समृद्धिको लक्ष्य हासिल गर्न आर्थिक विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नु अति आवश्यक भएको बताउँदै रिसाइक्लिङ र अपसाइक्लिङले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले परिकल्पना गरेको आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान दिन सक्ने उल्लेख गरे । 

पोखराको पर्यटन भविष्य स्वच्छ वातावरण र पर्यावरणीय सन्तुलनसँग जोडिएको भन्दै मुख्यमन्त्री पाण्डेले होटल, रेस्टुरेन्ट, पर्यटन व्यवसायी तथा स्थानीय समुदाय सबैले फोहोर व्यवस्थापनमा जिम्मेवारी लिनुपर्ने बताए ।

यस्तै उनले गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष ८३र८४ को वार्षिक नीति तथा कार्यक्रमले प्रदेशको समग्र विकास, पर्यटन प्रवद्र्धन, दिगो कृषि, हरित अर्थतन्त्र, वातावरण संरक्षण, पूर्वाधार विकास र सुशासनलाई महत्त्व दिएको जानकारी दिँदै फोहोरमैला व्यवस्थापनलाई वातावरणीय सरोकारको रूपमा मात्र नभई दिगो विकास लक्ष्य प्राप्तिको महत्त्वपूर्ण माध्यमको रूपमा लिनुपर्ने बताए ।

यस्तै पोखरा महानगरपालिका, कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपि)को सहकार्यमा उक्त मेला आयोजना गरिएको महानगरप्रमुख धनराज आचार्यले जानकारी दिए । 

यस फेस्टले रिसाइकलिङ तथा अपसाइकलिङ व्यवसायमा संलग्न उद्यमी, युवा, विद्यार्थी र सर्वसाधारणलाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको उनले बताए । हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत हाल २३ वटा उद्योग सञ्चालन तथा ३ हजार जनालाई प्रत्यक्ष रुपमा रोजगारीमा जोडेको उनले बताए ।

मेयर आचार्यले परियोजना अन्तर्गत २५ विद्यालयमा आरयु क्लब बनेको उल्लेख गर्दै थप विद्यालयमा क्लब बनाएर कास्कीभित्र सञ्जाल विस्तार गर्ने योजना सुनाउँदै क्लबमार्फत विद्यालय स्तरमा गतिविधि गरेर कार्यक्रम विस्तार गर्ने बताए ।

नयाँबजारको प्रर्दशनी केन्द्रमा करिब २ अर्बमा बनिरहेको ग्रिन भेञ्चर जोन दक्षिण एशियाको पहिलो परियोजना भएको जानकारी दिँदै उनले परियोजनालाई रिसाइक्लिङ, अफसाइक्लिङ, नवप्रवद्र्धन, सिकाइ र उद्यमशीलताको केन्द्रको रुपमा प्रवद्र्धन गर्ने उल्लेख गरे । हाल उक्त ग्रीन भेञ्चर जोनको ७२ प्रतिशत काम पुरा भएको जनाउँदै परियोजना सन् २०२७ को मार्च २७ गते महानगरलाई हस्तान्तरण हुने बताए । 

प्रकाशित मिति: ०७:४७ बजे, बिहीबार, मंसिर ३, २०८३