भाटभटेनी सुपरमार्केटलाई सरकारको विशेष सम्मान
राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनीसहित उत्कृष्ट करदाताहरूलाई सम्मान गरेका हुन्।
काठमाडौं, मंसिर १ : प्रतिकूल परिस्थितिका बाबजुद पनि निरन्तर व्यवसाय सञ्चालन गर्दै राजस्वमा महत्त्वपूर्ण योगदान पुर्याएको र रोजगारी सिर्जना गरेको भन्दै सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ।
राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनीसहित उत्कृष्ट करदाताहरूलाई सम्मान गरेका हुन्।
व्यवसाय सञ्चालनमा विभिन्न चुनौती आए पनि निरन्तर सेवा प्रवाह, राजस्वमा योगदान तथा रोजगारी सिर्जनामा पुर्याएको भूमिकाको कदर गर्दै भाटभटेनीलाई सरकारले विशेष सम्मान गरेको हो।
यस्तै, राष्ट्रिय कर दिवसका अवसरमा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन् भने संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ।
यस्तै, सरकारले वस्तु व्यापार कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा व्यावसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी इम्पेक्स प्रालिलाई सम्मानित गरेको छ । सीजीकै लगानी रहेको प्रमुख वाणिज्य बैंक नबिल बैंकिङ क्षेत्रमा कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेर उत्कृष्ट करदाता बनेको छ ।
हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ।






