Kathmandu Press

‘पर्फेक्ट सेन्टर फिल्ज’को दर्ता बदर, मिल्दोजुल्दो ट्रेडमार्क सुरक्षित नहुने सर्वोच्चको सन्देश

उद्योग विभागको अभिलेखअनुसार सुनसरीको दुहबीस्थित पर्फेक्ट फुड्स प्रालिको नाममा दर्ता रहेको उक्त ट्रेडमार्क चुइङ्गम उत्पादनका लागि वर्ग ३० अन्तर्गत आवेदन नम्बर ०६१८२२ मार्फत दर्ता प्रक्रियामा गएको थियो ।
‘पर्फेक्ट सेन्टर फिल्ज’को दर्ता बदर, मिल्दोजुल्दो ट्रेडमार्क सुरक्षित नहुने सर्वोच्चको सन्देश

काठमाडौँ, असोज २३ : बजारमा स्थापित ब्रान्डसँग मिल्दोजुल्दो नाम राखेर ट्रेडमार्क दर्ता गर्दैमा त्यसले कानुनी संरक्षण नपाउने सन्देश दिने गरी सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा आएको छ । चर्चित चुइङ्गम ब्रान्ड ‘सेन्टर फ्रुट’सँग झुक्किने गरी मिल्दोजुल्दो रहेको ठहरपछि उद्योग विभागले नेपालमा बिक्री हुँदै आएको ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता बदर गरेको हो ।

इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’ ट्रेडमार्कसँग मिल्दोजुल्दो चिन्ह प्रयोग भएको ठहर गर्दै सर्वोच्च अदालतले दिएको फैसलाका आधारमा विभागले उक्त ट्रेडमार्क बदर गरेको हो । उद्योग विभागको अभिलेखअनुसार सुनसरीको दुहबीस्थित पर्फेक्ट फुड्स प्रालिको नाममा दर्ता रहेको उक्त ट्रेडमार्क चुइङ्गम उत्पादनका लागि वर्ग ३० अन्तर्गत आवेदन नम्बर ०६१८२२ मार्फत दर्ता प्रक्रियामा गएको थियो ।

मुद्दा नम्बर ०७७–सीआई–०३०१ मा सर्वोच्च अदालतले ‘पर्फेक्ट सेन्टर फिल्ज’ र ‘सेन्टर फ्रुट’बीच पर्याप्त समानता रहेको र त्यसले सामान्य उपभोक्तामा भ्रम सिर्जना गर्न सक्ने निष्कर्ष निकालेको फैसलासम्बन्धी कानुनी विश्लेषणमा उल्लेख छ।

अदालतले ट्रेडमार्कको समानता परीक्षण गर्दा शब्द वा अक्षरको तुलना मात्रै पर्याप्त नहुने दृष्टिकोण लिएको छ। ट्रेडमार्कको उच्चारण, दृश्य स्वरूप, वस्तुको प्रकृति, बिक्री हुने स्थान, खरिदका क्रममा उपभोक्ताले दिने ध्यान र बजारमा पर्ने समग्र प्रभावलाई समेत मूल्यांकन गर्नुपर्ने अदालतको दृष्टिकोण छ।

शब्दभन्दा समग्र प्रभाव महत्त्वपूर्ण

विवादका क्रममा पर्फेक्ट फुड्सले आफ्नो कम्पनीको नाम, उत्पादनको प्याकेजिङ र ट्रेडमार्कमा प्रयोग भएका अन्य शब्द फरक रहेको तथा ‘सेन्टर’ र ‘फ्रुट’ सामान्य शब्द भएकाले उपभोक्तामा भ्रम सिर्जना नहुने दाबी गरेको थियो।

तर सर्वोच्च अदालतले ट्रेडमार्कमा रहेका शब्दलाई अलग–अलग हेर्नुभन्दा समग्र चिन्हले उपभोक्तामा पार्ने प्रभावलाई प्राथमिकता दिएको छ। लामो समयदेखि बजारमा प्रयोग हुँदै आएको ‘सेन्टर फ्रुट’ले विशिष्ट व्यापारिक पहिचान बनाइसकेको अवस्थामा ‘पर्फेक्ट’ वा ‘फिल्ज’ जस्ता अतिरिक्त शब्द थप्दैमा भ्रमको सम्भावना समाप्त नहुने अदालतको निष्कर्ष छ।

व्यावसायिक कानुन व्यवसायी निरव ज्ञवालीले स्थापित ब्रान्डसँग मिल्दोजुल्दो चिन्ह प्रयोग गरेर उपभोक्तामा भ्रम सिर्जना गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यो फैसला महत्त्वपूर्ण रहेको बताए । उनका अनुसार ट्रेडमार्क विवादलाई शब्दको समानतामा मात्र सीमित नराखी उपभोक्तामा पर्ने समग्र प्रभावका आधारमा हेर्ने दृष्टिकोण कानुनी रूपमा महत्त्वपूर्ण छ ।

photo-2_56eb2401-1791479325.png
 

विदेशी लगानीका लागि पनि सकारात्मक सन्देश

यस फैसलालाई नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण र विदेशी लगानीको वातावरणसँग पनि जोडेर हेरिएको छ। अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) का महाप्रबन्धक अमिर राज थापाले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थिरतासँगै ब्रान्ड र बौद्धिक सम्पत्तिको प्रभावकारी कानुनी संरक्षण आवश्यक रहेको बताए।

उनका अनुसार स्थापित ब्रान्ड तथा बौद्धिक सम्पत्तिको संरक्षणसम्बन्धी अदालतका फैसला र तिनको प्रभावकारी कार्यान्वयनले अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास बलियो बनाउन सक्छ।

दर्ता बदर भएको ट्रेडमार्क प्रयोग गरे कारबाही

नेपालको पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ ले निश्चित अवस्थामा दर्ता भइसकेका ट्रेडमार्कसमेत बदर गर्न सकिने व्यवस्था गरेको छ। ऐनको दफा १८(३) अनुसार उद्योग विभागलाई निर्धारित अवस्थामा ट्रेडमार्क दर्ता बदर गर्ने अधिकार छ। दफा १९ मा बदर भएको ट्रेडमार्क प्रयोग गरी कारोबार गरेमा जरिवाना तथा सम्बन्धित सामान जफत गर्न सकिने व्यवस्था छ।

पर्फेट्टी भ्यान मेली नेपालले बजारको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। कम्पनीले आफ्नो ट्रेडमार्क तथा उपभोक्ताको हित संरक्षणका लागि आवश्यक कानुनी कदम चाल्ने पनि स्पष्ट पारेको छ। कम्पनीका अनुसार वास्तविक ‘सेन्टर फ्रुट’ उत्पादन भने यस निर्णयबाट प्रभावित भएको छैन।

समग्रमा, ‘सेन्टर फ्रुट’ र ‘पर्फेक्ट सेन्टर फिल्ज’बीचको विवादमा सर्वोच्चको फैसला तथा त्यसको कार्यान्वयनले ट्रेडमार्क दर्ता गर्दा नाम र शब्दको भिन्नता मात्रै नभई बजारमा स्थापित ब्रान्डको पहिचान, उपभोक्तामा पर्ने प्रभाव र भ्रमको सम्भावनालाई समेत ध्यान दिनुपर्ने स्पष्ट सन्देश दिएको छ। दर्ता प्रमाणपत्र प्राप्त भएकै आधारमा स्थापित ब्रान्डसँग अत्यधिक मिल्दोजुल्दो चिन्ह सधैँ कानुनी रूपमा सुरक्षित नहुने नजिर यस प्रकरणले स्थापित गरेको छ।
 

प्रकाशित मिति: ०७:०५ बजे, शुक्रबार, असोज २३, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्