अम्बिका चलाउनेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
पार्टीको सुदूरपश्चिम प्रदेश कार्यसमितिकी सहमहामन्त्रीसमेत रहेकी चलाउनेले सुदूरपश्चिम प्रदेश अन्तरगत महिला तर्फबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्। उनी अछामको पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुखसमेत हुन्।
काठमाडौं असोज २० : नेपाली कांग्रेसकी युवा नेतृ अम्बिका चलाउनेले कांग्रेसको १५औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन्।
पार्टीको सुदूरपश्चिम प्रदेश कार्यसमितिकी सहमहामन्त्रीसमेत रहेकी चलाउनेले सुदूरपश्चिम प्रदेश अन्तरगत महिला तर्फबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्। उनी अछामको पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुखसमेत हुन्।
चलाउनेले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी हुन । २०६५ सालमा पञ्चदेवल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति बनेकी उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।
पार्टीको विभिन्न तहमा रहेर काम गरेर अनुभव बटुलेकी चलाउनेले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेसँगै कांग्रेसको सुदूरपश्चिम भूगोलबाट महिला प्रतिनिधित्वको विषयसमेत चर्चामा आएको छ।
समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चलाउनेले सुदूरपश्चिमका राजनीतिक, सामाजिक तथा विकासका मुद्दालाई पार्टीको केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन्।
मैले विद्यार्थी राजनीति, पार्टी संगठन र स्थानीय तहमा हासिल गरेको अनुभवलाई नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रयोग गरी युवा पुस्ताको सहभागिता, संगठन सुदृढीकरण, स्थानीय तहका अनुभवलाई पार्टीको नीति निर्माणसँग जोडी पार्टीलाई जनतासँग अझ नजिक पु¥याउने लक्ष्यका साथ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छु,’ उनले भनिन्।











