खुला तर्फ कांग्रेस केन्द्रीय सदस्यमा प्रवल थापाको उम्मेदवारी
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै थापाले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त सल्लाह र सुझावका आधारमा आफूले निर्णय लिएको बताएका छन्। पार्टी संगठनलाई थप प्रभावकारी बनाउने र निरन्तर क्रियाशील नेता–कार्यकर्ताको सम्मान तथा हकहितका लागि काम गर्ने उनले बताएका छन्।
काठमाडौं, असोज २० : नेपाली कांग्रेसका युवा नेता प्रवल थापाले पार्टीको १५औँ महाधिवेशनमा खुला तर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा सक्रिय भएका थापा तरुण दल, जिल्ला कार्यसमिति, केन्द्रीय तरुण विभाग, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी हुँदै केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएका हुन्।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै थापाले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त सल्लाह र सुझावका आधारमा आफूले निर्णय लिएको बताएका छन्। पार्टी संगठनलाई थप प्रभावकारी बनाउने र निरन्तर क्रियाशील नेता–कार्यकर्ताको सम्मान तथा हकहितका लागि काम गर्ने उनले बताएका छन्।
थापाले महाधिवेशन प्रतिनिधिले आफूलाई केन्द्रीय सदस्यका रूपमा काम गर्ने अवसर दिने विश्वास पनि व्यक्त गरेका छन्।
१५औँ महाधिवेशनअघि भएको काठमाडौं क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनबाट थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। खुलातर्फ उनले १७१ मत पाउँदै सर्वाधिक मत प्राप्त गरेका थिए।
यसअघि पनि उनी महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि रहिसकेका छन्। काठमाडौंमा जन्मिएका थापा बानेश्वर क्षेत्रका स्थायी बासिन्दा हुन्। नेपालमै स्नातक तहसम्मको अध्ययन गरेका उनले अस्ट्रेलियाबाट एमबीए गरेका छन्। अध्ययनपछि स्वदेश फर्किएका उनी राजनीति, सामाजिक गतिविधि तथा व्यवसायमा सक्रिय छन्।
उनको औपचारिक राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो। नेविसंघको क्षेत्रीय प्रतिनिधि हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका थापा पछि नेपाल तरुण दलको केन्द्रीय सदस्य बने।
उनले नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सदस्य तथा पार्टीको केन्द्रीय समितिअन्तर्गत तरुण विभाग सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।
विद्यार्थी संगठनदेखि पार्टीको जिल्ला र केन्द्रीय संरचनासम्म काम गरेको अनुभवलाई थापाले आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएका छन्। आफू ‘कांग्रेसको नर्सरीमा हुर्किएको’ बताउँदै आएका थापाले स्थानीय तहमा निरन्तर सक्रिय रहने राजनीतिलाई प्राथमिकता दिने धारणा राख्दै आएका छन्।
उनका पिता प्रदीप थापा पञ्चायतविरोधी आन्दोलनमा सक्रिय थिए। बाल्यकालमै पिताको निधन भएपछि थापा आमाको संरक्षणमा हुर्किएका हुन्। नेपाली कांग्रेसले २०८२ को प्रतिनिधिसभा निर्वाचनमा थापालाई काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको थियो।
निर्वाचनका क्रममा उनले लोकतन्त्र, सुशासन, पारदर्शिता, जवाफदेहिता र सक्रिय नीति निर्माणलाई आफ्ना प्रमुख राजनीतिक एजेन्डाका रूपमा प्रस्तुत गरेका थिए।
प्रतिनिधिसभा निर्वाचनपछि उनी पुनः पार्टीको आन्तरिक राजनीतिमा सक्रिय भएका हुन्। त्यसपछि भएको काठमाडौं–१ को क्षेत्रीय अधिवेशनमा खुलातर्फ सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।
नेविसंघ, तरुण दल, काठमाडौं जिल्ला कार्यसमिति, केन्द्रीय तरुण विभाग, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा प्रतिनिधिसभा उम्मेदवारको अनुभवपछि थापा अब कांग्रेसको केन्द्रीय कार्यसमितिमा प्रवेश गर्ने प्रयासमा छन्।











