खड्ग नेपाली : कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुली–१(ख) सभापतिको प्रमुख दावेदार
साविक रत्नावती गाविस हाल फिक्कल गाउँपालिका वडा नं. ६ को विकट भूगोलमा सामान्य आर्थिक अवस्थामा हुर्किएका नेपालीले अभाव र चुनौतीहरूलाई पन्छाउँदै निरन्तर जनसेवा र पार्टी संगठनमा आफूलाई समर्पित गर्दै आएका छन्।
सिन्धुली, भदौ १२ : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सिन्धुली जिल्लामा साङ्गठनिक माहोल एकाएक तातेको छ।
शक्ति र अवसरवाद भन्दा निष्ठा र निरन्तरताको राजनीति खोजिरहेका स्थानीय नेता–कार्यकर्ता माझ धरातलीय राजनीतिबाट खारिएका जनप्रिय युवा नेता खड्ग नेपालीले प्रतिनिधी सभा क्षेत्र नं. १ प्रदेश(ख) को सभापति पदमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेका छन्।
साविक रत्नावती गाविस हाल फिक्कल गाउँपालिका वडा नं. ६ को विकट भूगोलमा सामान्य आर्थिक अवस्थामा हुर्किएका नेपालीले अभाव र चुनौतीहरूलाई पन्छाउँदै निरन्तर जनसेवा र पार्टी संगठनमा आफूलाई समर्पित गर्दै आएका छन्।
तत्कालिन जिल्ला विकास समिति मातहतको एलजिसिडिपी परियोजना अन्तरगत सामाजिक परिचालकको रुपमा सामाजिक काममा प्रवेश गरेका उनी केवल संगठनका चतुर रणनीतिज्ञ मात्र नभई जनमत जोड्न सक्ने कुशल नेता पनि हुन्।
सङ्घीयता पछिको २०७४ को स्थानीय तहको निर्वाचनमा फिक्कल गाउँपालिका वडा नं. ६ मा कम्युनिस्टको लालकिल्ला भङ्ग गरेर इतिहास रची नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
त्यतिबेलासम्म सो वडामा नेपाली कांग्रेसले कहिल्यै जित हासिल गर्न सकेको थिएन। कम्युनिस्टको गढ मानिने उक्त वडामा पहिलोपटक रुख चिन्हमा ऐतिहासिक जित दिलाएर उनले आफ्नो राजनीतिक प्रभाव र जनप्रियता सिद्ध गरेका थिए।
२०६३ सालमा तत्कालिन क्षेत्रिय सभापति कृष्णप्रसाद गौतमको हातबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएर पार्टीको औपचारिक राजनीति प्रारम्भ गरी पार्टी संगठनको तल्लो तहदेखि क्रमिकका रूपमा अघि बढि पार्टीको १४औँ महाधिवेशनबाट क्षेत्रिय सचिवमा सर्वाधिक (पहिलो) मत सहित बिजयी उनी राजनीतिक यात्रा निष्ठा र समर्पणको उदाहरण हुन्।
त्यसअधि उनी पार्टीको १२औँ र १३औँ महाधिवेशनबाट दुई कार्यकाल क्षेत्रीय सदस्यको भूमिका निर्वाह गर्दै क्षेत्रीय संगठनलाई गाउँ–बस्तीसम्म मजबुत बनाउन सफल भएका थिए।
राजनीतिक यात्राका क्रममा उनले २०६४, २०७०, २०७४ लगायतका विभिन्न निर्वाचनहरूमा पार्टीका उम्मेदवारहरूलाई बिजयी गराउन अग्रपंक्तिमा रहेर कमाण्डरको भूमिका निर्वाह गरेका थिए।
त्यस्तै, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेको सचिवालयमा रहेर नीतिगत, संसदीय र जनमुखी कार्यहरूमा उत्कृष्ट दक्षता प्रदर्शन गरेका उनलाई पार्टीभित्र कुशल प्रशासक र संयोजकका रूपमा समेत हेरिन्छ।
पार्टीका अग्रजहरूको मार्गदर्शन र युवाहरूको अपार साथसहित आफ्नो उम्मेदवारीलाई सिन्धुली कांग्रेसभित्र कार्यकर्ताको जित र निष्ठाको राजनीतिका रूपमा रहेको उनले बताए।
‘क्षेत्रीय सचिवका रूपमा रहेर काम गरेको अनुभवलाई उपयोग गर्दै आगामी दिनमा पार्टी संगठनलाई अझ सुदृढ र गतिशील बनाउने मेरो मुख्य लक्ष्य हुनेछ, विकट भूगोलका समस्या, अभाव र चुनौतीहरूलाई मैले नजिकबाट भोगेको र बुझेको छु, त्यसैले कार्यकर्ताको सुख–दुःखमा सधैँ साथ दिँदै उनीहरुको भरोसा र चाहनाअनुसार यसपटक सिन्धुली–१ प्रदेश (ख) को कमाण्ड सम्हाल्ने पूर्ण तयारीमा छु,’ उनले भने।











