Kathmandu Press

बाढीपहिरोबाट विस्थापित नागरिकलाई तत्काल बसोबासको व्यवस्था गरियोस् : सांसद शर्मा

‘बागलुङमा असोज १० र ११ गते आएको बाढीपहिरोमा परी १० जनाको मृत्यु भएको छ। ताराखोला गाउँपालिका–५ धम्सारमा घर भत्किँदा ९५ वर्षीय मानबहादुर रोकाको मृत्यु भएको छ,’ उनले भनिन्।
बाढीपहिरोबाट विस्थापित नागरिकलाई तत्काल बसोबासको व्यवस्था गरियोस् : सांसद शर्मा

काठमाडौं, असाेज ११ : नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढीपहिरोबाट बागलुङमा ठूलो जनधनको क्षति भएको भन्दै तत्काल उद्धार, राहत तथा पुनर्निर्माणको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले भोटेकोशी बाढीको घाउ सुक्न नपाउँदै असोज ८ गतेदेखि परेको लगातार वर्षासँगै आएको बाढीपहिरोले देशभर र विशेषगरी बागलुङमा थप क्षति पुर्याएको बताइन्।

‘बागलुङमा असोज १० र ११ गते आएको बाढीपहिरोमा परी १० जनाको मृत्यु भएको छ। ताराखोला गाउँपालिका–५ धम्सारमा घर भत्किँदा ९५ वर्षीय मानबहादुर रोकाको मृत्यु भएको छ,’ उनले भनिन्।

त्यस्तै, निसीखोला गाउँपालिका–३ मा घर भत्किँदा एकै परिवारका श्यामकुमारी विक, मनोज विक, ईरेश विक र निसान विकको मृत्यु भएको उनले जानकारी दिइन् । निसीखोला गाउँपालिका–६ का सूर्य घर्ती मगरको पनि घर भत्किँदा मृत्यु भएको शर्माले बताइन्।

तमानखोला गाउँपालिका–३ का बुद्धिराज घर्ती र भीमदेवी घर्ती तथा वडा नम्बर ४ का हस्तवीर सिर्पाली र उदीसरा सिर्पालीको पनि बाढीपहिरोमा परी मृत्यु भएको उनले उल्लेख गरिन्। एक जना महिला अझै सम्पर्कविहीन रहेको शर्माले बताइन्।

उनले बाढीपहिरोमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिन्।

सांसद शर्माले बाढीपहिरोबाट विस्थापित नागरिकलाई तत्काल बसोबासको व्यवस्था मिलाउन, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा बेपत्ताको शीघ्र खोजी र उद्धार गर्न सरकारसँग माग गरिन्।

प्रकाशित मिति: १२:१८ बजे, सोमबार, असोज १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्