कृष्णभीरसहित पृथ्वी राजमार्गका ठाउँ- ठाउँमा पहिरो, राजमार्ग पुर्ण रूपमा ठप्प

काठमाडौं, असाेज ९ : लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको कृष्णभीरसहित सात ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
कृष्णभीरमा रातिदेखि नै पहिरो र ढुंगा खसेको थियो । सडकमा खसेको पहिरो पन्छाउने काम भए पनि थप वर्षाका कारण प्रभावित भएको छ ।
धादिङतर्फको कृष्णभीरसहित जरे, जवाङखोला, परेवाभीर, कमेरेभीर, ज्यामिरेलगायत ठाउँमा पहिरो खसेको जिल्ला प्रशासन कार्यालय, धादिङले जनाएकाे छ ।
निरन्तर परिरहेको पानीका कारण पहिरो पन्छाउने कार्यमा समेत अवरोध पुगेकाे छ ।
यता, पृथ्वी राजमार्गस्थित चितवनको इच्छाकामना गाउँपालिका–४ फिस्लिङनजिक धारापानीमा सडक भासिएको छ । शुक्रबार बिहान सवा ६ बजेतिर सडक भासिएपछि सडक अवरुद्ध छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाएको छ ।




-1790252522.jpg)






