नाचघरमा ‘एक चिहान’
यो पटक कथाका पात्र र परिवेशलाई प्रस्तुत गर्ने शैलीमा समेत परिवर्तन गर्दै कृतिको मूल भावलाई कायम राख्दै मञ्चीय प्रभाव बढाउने प्रयास गरिएको निर्देशक रामबाबु रेग्मीको भनाई छ।
काठमाडौं, असोज ७ : नाटक ‘एक चिहान’ राष्ट्रिय नाचघर, जमलमा मञ्चान भइरहेको छ।
हृदयचन्द्रसिंह प्रधानको चर्चित कृतिमा आधारित रहेर निर्माण गरिएको यो नाकट मंगलबारबाट नाचघरमा मञ्चन सुरु भएको हो।
माण्डपिका आर्ट ग्रुपको प्रस्तुतिमा तयार भएको नाटकलाई रामबाबु रेग्मीले निर्देशन गरेका छन्। उनले नाटकलाई नयाँ कलाकारसहित नयाँ शैलीका मञ्चमा उतारेका छन्।
रिता थापा निर्माता रहेको नाटकमा नाट्य रूपान्तरण तथा परिकल्पना वीरेन्द्र हमालको रहेको छ। नाटकमा यसपटक कथा र पात्रलाई नयाँ पुस्तासँग जोड्ने प्रयास गरिएको छ।
‘एक चिहान’ केवल एउटा पारिवारिक वा सामाजिक कथा मात्र होइन, नेपाली समाजमा रहेको वर्गीय विभेद, गरिबी, संघर्ष र मानवीय सम्बन्धको चित्रण गर्ने कृति भएको निर्देशक रामबाबु रेग्मी बताउँछन्। यही कारण पुस्तकमा पढेका पात्र र परिवेशलाई प्रत्यक्ष रंगमञ्चमा हेर्न पाउँदा दर्शक उत्साहित भएको उनले बताए।

यो पटक कथाका पात्र र परिवेशलाई प्रस्तुत गर्ने शैलीमा समेत परिवर्तन गर्दै कृतिको मूल भावलाई कायम राख्दै मञ्चीय प्रभाव बढाउने प्रयास गरिएको उनको भनाई छ।
नाटकमा राजेन्द्र गर्तौला, जेबी डीसी, प्रह्लाद खरेल, सानु पाण्डेय, रिता थापा, विपुल मगर, दिव्या कार्की, सुजन आचार्य, रिनेक्स बस्नेत, सुमित्रा श्रेष्ठ, आयान थापा, उमाकान्त सापकोटा, राशिका, सब्जुन राई ,बिशाल तामाङ ,स्मारिका कुवर, आशिश लामा र याना सिलवाललगायत कलाकारको अभिनय छ।

विशेषगरी नाटकमा ‘डा. गोदत्त’ पात्र दर्शकले रुचाइरहेका छन्। नाटकमा ‘डा. गोदत्त’को भूमिका कलाकार जेबी डिसीलाई देख्न सकिन्छ। उनको संवाद, हाउभाउमार्फत पात्रलाई पूर्णरुपमा न्याय दिएका छन्। डिसीले यसअघि पनि यो नाकटमा ‘डा. गोदत्त’कै भूमिका देखिएका थिए, उनी थप सशक्त देखिनुका साथै दर्शकलाई फरक स्वाद दिएका छन्।
नाटक नियमित मञ्चनसँगै दर्शक तथा विभिन्न समूहको मागअनुसार बुकिङ शोसमेत सञ्चालन गरिनेछ।












