Kathmandu Press

सुर्खेतमा श्रीमतीको हत्या घटनाप्रति सांसद विकको ध्यानाकर्षण

उनले घटनामा मृतककी दुई छोरीसमेत गम्भीर घाइते भएको र छोरा भागेर बाँच्न सफल भएको जानकारी दिइन्। नजिकै रहेको प्रहरीले केही समयपछि मात्रै घाइते बालबालिकाको उद्धार गरेको उनले बताइन्।
सुर्खेतमा श्रीमतीको हत्या घटनाप्रति सांसद विकको ध्यानाकर्षण

काठमाडौं, असाेज ६ : नेपाल कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले सुर्खेतमा श्रीमान्ले श्रीमतीको हत्या गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विकले सुर्खेतको चौकुने गाउँपालिका–६ का गोपीराम जैसीले आफ्नी श्रीमती चन्द्रकला देवकोटा जैसीलाई भरुवाले हानेर हत्या गरेको घटना मर्माहत बनाएको बताइन्।

उनले घटनामा मृतककी दुई छोरीसमेत गम्भीर घाइते भएको र छोरा भागेर बाँच्न सफल भएको जानकारी दिइन्। नजिकै रहेको प्रहरीले केही समयपछि मात्रै घाइते बालबालिकाको उद्धार गरेको उनले बताइन्।

सांसद विकले श्रीमतीले पैसा नदिएर रक्सी खान नपाएको झोकमा श्रीमान्ले आक्रमण गरेको बताउँदै महिलामाथि हुने हिंसा रोक्न सरकार गम्भीर हुनुपर्ने बताइन्।

उनले भनिन्, ‘कहिलेसम्म महिलाहरूले यस्तो यातना भोग्नुपर्छ? त्यसैले छोरीचेलीहरूको सुरक्षा यो सरकारले गर्नुपर्छ।’

सांसद विकले मदिरा तथा लागुऔषध नियन्त्रणका लागि ठूला ब्रान्डका मदिरामा मात्रै नभई गाउँघरमा प्रयोग हुने स्थानीय मदिराको समेत नियन्त्रण गर्नुपर्ने बताइन्। मदिरा सेवन गरेर सार्वजनिक स्थानमा असुरक्षित रूपमा हिँड्नेहरूलाई समेत कारबाहीको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

उनले घटनामा गम्भीर घाइते भएका दुई छोरीको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिन्। परिवार गम्भीर अवस्थामा रहेको भन्दै उनले पीडित परिवारलाई आवश्यक सहयोग गर्नसमेत सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित मिति: ११:४१ बजे, बुधबार, असोज ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्