संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
सांसद सिंहले केन्द्रमा शासन गर्नेहरुले मधेशलाई कहिले पनि प्राथमिकतामा नराखेको बताए। उनले जनयुद्ध र मधेश आन्दोलनको जगबाट मधेशले केही उपलब्धि पाएता पनि अहिले त्यसको कुनै औचित्य नदेखिएको बताए।
काठमाडौं, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको बताएका छन्।
आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मेचीदेखि महाकालीसम्म पैदल यात्रा गर्नेबारे जानकारी दिने क्रममा सांसद सिंहले संविधानमाथि प्रहार भइरहेको जानकारी दिए।
उनले अहिलेको संविधान कुनै कारणबस गयो भने आगामी १० वर्षसम्म पुनः संविधान नबन्ने दाबी गरे। उनले देश गृहयुद्धमा जाने र मधेशले केही पनि नपाउने बताए।
सांसद सिंहले केन्द्रमा शासन गर्नेहरुले मधेशलाई कहिले पनि प्राथमिकतामा नराखेको बताए। उनले जनयुद्ध र मधेश आन्दोलनको जगबाट मधेशले केही उपलब्धि पाएता पनि अहिले त्यसको कुनै औचित्य नदेखिएको बताए।
सांसद सिंहले देशमा कुनै न कुनै किसिमले जहिले पनि मधेशमै द्वण्द्व, हिंसा, धार्मिक दंगालगायतका घटना हुने गरेकोप्रति सरकारलाई प्रश्न गरे।
उनले मधेश र कोशी प्रदेशलाई ’ब्याटल ग्राउण्ड’ बनाउन खोजिएको बताएका छन् । यस्ता क्रियाकलाप हुनबाट बच्न र बचाउन सांसद सिंहले सबैजनालाई आग्रह गरे।
सांसद सिंहले मधेशलाई सरकारसंग जोड्न जनतामाझ गएर उनीहरुको अपेक्षा सुन्ने योजना बनाएको जानकारी दिए । त्यसका निम्ति उनले छठ पर्वको दिन जनकपुरधाममा पूजा गरेर मेचीदेखि महाकालीसम्मको पैदल यात्रा सुरु गर्ने बताए।
उनले प्रत्येक दिन पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा प्रत्यक्ष जनताहरुसंग भेटेर उनीहरुको अपेक्षा सुन्ने बताए । पैदल यात्रा समाप्त भएपछि जनताबाट सुनेका अपेक्षाहरु सरकारसमक्ष राख्ने र ती अपेक्षाहरु पूरा गर्न सरकारलाई आग्रह गर्नुका साथै दबाब दिने सांसद सिंहले जानकारी दिए।
रास्वपाकै सांसद भएर सरकारको आलोचना किन गरेको रु भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सांसद सिंहले आफूले सरकारको आलोचना वा विरोध नगरेको प्रष्ट पारेका छन्।
उनले जनताको आवाज र अपेक्षालाई सरकारसमक्ष राखेको बताए । जनताले चाहेको कुरा सरकारलाई सुनाउनु नै आफ्नो कर्तव्य रहेको र त्यसका निम्ति जुनसुकै पार्टीको सरकार भएपनि आफूले आवाज उठाइरहने उनले प्रष्ट पारे।











