युवालाई विपद् जोखिम न्यूनीकरण र जलवायु उत्थानशीलताबारे अभिमुखीकरण
कार्यक्रममा उनले विपद्को जोखिम घटाउन पूर्वतयारी, सुरक्षित पूर्वाधार र समुदायको क्षमता अभिवृद्धिसँगै युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए।
काठमाडौं, असाेज४ : रोटरी क्लब अफ काठमाडौं हाइटले युवालाई जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा उत्थानशीलताबारे जानकारी दिने उद्देश्यले ‘गेस्ट स्पिकर सेसन’ आयोजना गरेको छ।
शनिबार बानेश्वरमा आयोजित कार्यक्रममा सिभिल तथा वातावरण इन्जिनियर, विपद् जोखिम न्यूनीकरण विज्ञ एवं अनुसन्धानकर्ता डा. दीपक विक्रम थापा क्षेत्रीले पछिल्ला बाढीका घटनाबाट देखिएका जोखिम, जलवायु परिवर्तनको प्रभाव, विपद् पूर्वतयारी तथा सुरक्षित समुदाय निर्माणका विषयमा प्रस्तुति दिएका थिए।
कार्यक्रममा उनले विपद्को जोखिम घटाउन पूर्वतयारी, सुरक्षित पूर्वाधार र समुदायको क्षमता अभिवृद्धिसँगै युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए।
क्लबका पास्ट प्रेसिडेन्ट सचिन अवालेका अनुसार युवामा विपद् तथा जलवायु परिवर्तनका विषयमा चेतना बढाउँदै उनीहरूलाई समाधानमुखी र जिम्मेवार भूमिकातर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। युवाको ऊर्जा, जिज्ञासा र नयाँ सोचलाई सही दिशामा परिचालन गर्न सके दीर्घकालीन रूपमा उत्थानशील समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
डा. थापा क्षेत्री हाल काठमाडौंको कान्तिपुर सिटी कलेजमा डाइरेक्टर अफ इन्जिनियरिङ तथा हेड अफ सिभिल इन्जिनियरिङका रूपमा कार्यरत छन्। उनी बागमती प्रदेशका मुख्यमन्त्रीका विपद् विज्ञका रूपमा समेत कार्यरत छन् भने जापानको एहिमे विश्वविद्यालय र क्यानडाको युनिभर्सिटी अफ द फ्रेजर भ्यालीमा भिजिटिङ एसोसिएट प्रोफेसरका रूपमा आबद्ध छन्।











