उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट
शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल–साउदी द्विपक्षीय सम्बन्ध, नेपाली आप्रवासी कामदार, आर्थिक सहयोग तथा नेपालमा हालै आएको विनाशकारी बाढीलगायत विषयमा छलफल भएको थियो ।
काठमाडौं, असाेज २ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल–साउदी द्विपक्षीय सम्बन्ध, नेपाली आप्रवासी कामदार, आर्थिक सहयोग तथा नेपालमा हालै आएको विनाशकारी बाढीलगायत विषयमा छलफल भएको थियो ।
भेटमा उपराष्ट्रपति यादवले सन् १९७७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको बताए । उनले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषिलगायत क्षेत्रमा साउदी अरेबियाबाट थप लगानी तथा सहयोगको अपेक्षा रहेको बताए ।
यादवले साउदी अरेबिया नेपाली आप्रवासी कामदारका लागि प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गरेकोमा साउदी सरकारप्रति धन्यवाद व्यक्त गरे । सन् २०२७ मार्चमा नेपाल–साउदी कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण महोत्सव मनाउने तयारी भइरहेको भन्दै उनले यसलाई अर्थपूर्ण र स्मरणीय बनाउन आवश्यक कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए ।
नेपाल–साउदीबीच गत अगस्ट ३१ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै यादवले उक्त सम्झौताले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव सामना गर्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको पनि बताए ।
साउदी राजदूत मनिकरले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्न साउदी अरेबिया तयार रहेको बताए । आफ्नो कार्यकालमा नेपाल–साउदी सम्बन्धलाई थप सुमधुर बनाउन निरन्तर प्रयास गर्ने उनले प्रतिबद्धता जनाए ।











