Kathmandu Press

‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ले नेपाल–चीन सम्बन्ध बुझ्न सहयोग गर्छ : अध्यक्ष दाहाल

नेपाली राजकुमारी भृकुटीको तिब्बतका राजा स्रङचङ गम्पोसँगको वैवाहिक सम्बन्ध तथा नेपाली कलाकार अरनिकोले चीनमा पु¥याएको कला र वास्तुकलाको योगदानले पनि दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको उनको भनाइ थियो।
‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ले नेपाल–चीन सम्बन्ध बुझ्न सहयोग गर्छ : अध्यक्ष दाहाल

काठमाडौं, असाेज २ : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण प्रकाशनले नेपाल र चीनबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध बुझ्न महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् ।

पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्राचीन चिनियाँ भाषामा लेखिएको कृतिलाई आधुनिक चिनियाँ भाषामा रूपान्तरण गर्दै नेपाली भाषामा भाव नबिगारी अनुवाद गर्नु चुनौतीपूर्ण कार्य भएको बताएका हुन् । उनले अनुवाद, सम्पादन तथा प्रकाशनमा संलग्न सबैको मेहनत र परिश्रमको प्रशंसा गरे ।

‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण प्रकाशनले नेपाल र चीनबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध बुझ्न महत्वपूर्ण योगदान पु¥याउँछ । प्राचीन चिनियाँ भाषामा लेखिएको कृतिलाई आधुनिक चिनियाँ भाषामा रूपान्तरण गर्दै नेपाली भाषामा भाव नबिगारी अनुवाद गर्नु चुनौतीपूर्ण कार्य हो। यसमा संलग्न अनुवादक, सम्पादक तथा प्रकाशक सबैको मेहनत र परिश्रम प्रशंसनीय छ। यो पुस्तकले चीनको इतिहासका विविध पक्षसँगै नेपाल–चीन सम्बन्धका ऐतिहासिक आयाम बुझ्न महत्वपूर्ण सहयोग गर्ने विश्वास लिएको छु,’ उनले भने।

अध्यक्ष दाहालले ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण प्रकाशन भएकोमा बधाई दिँदै यसले चीनको इतिहासका विविध पक्षसँगै नेपाल–चीन सम्बन्धका ऐतिहासिक आयाम बुझ्न सहयोग गर्ने विश्वास व्यक्त गरे।

उनले करिब १ हजार ४ सय वर्षअघि चिनियाँ यात्री तथा बौद्ध भिक्षु ह्वेन साङले गरेको जोखिमपूर्ण यात्राको चर्चा गर्दै उनले नेपाल भ्रमणका क्रममा यहाँको भू–दृश्य, जनजीवन, बौद्ध विहार तथा संस्कृतिबारे गरेको अवलोकन पुस्तकमा अभिलेख गरेको बताए । ह्वेन साङले यात्राका क्रममा संकलन गरेका विवरणले नेपालको मात्र नभई समग्र दक्षिण एसियाको इतिहास बुझ्न महत्वपूर्ण आधार प्रदान गरेको उनको भनाइ थियो।

‘पुस्तक हेर्दै जाँदा मैले थप नयाँ कुरा बुझ्ने मौका पनि पाएँ। आजभन्दा करिब १४०० वर्षअघि चिनियाँ यात्री तथा भिक्षु ह्वेन साङ दक्षिण एसियाको यात्रामा निस्किएका थिए। सो क्रममा उनी नेपाल पनि आएका थिए। उनले यहाँको भू–दृश्य, जनजीवन, बौद्ध विहार तथा सांस्कृतिक अवलोकन गरेको वर्णन उनकै पुस्तकमा पाइन्छ । यात्राको क्रममा उनले आफूले देखेका र सिकेका कुराहरू अभिलेखमा उतारे। उनको त्यो यात्रा वृत्तान्तको लेखनले नेपालको मात्र नभई समग्र दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण ऐतिहासिक स्मृतिलाई सयौँ वर्षदेखि संरक्षण गरेको छ भन्ने मलाई लाग्दछ,’ उनले भने।

अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध आधुनिक कूटनीतिक सम्बन्ध स्थापनाभन्दा धेरै पुरानो रहेको बताए । जनस्तरमा सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक तथा व्यापारिक सम्पर्कमार्फत दुई देशबीच लामो समयदेखि सम्बन्ध कायम रहँदै आएको उनले उल्लेख गरे।

उनले भिक्षु मञ्जुश्री, चिनियाँ यात्री तथा भिक्षु फा सियान र ह्वेन साङ तथा चीन भ्रमण गरेका नेपाली विद्वान् बुद्धभद्रलगायतले नेपाल–चीन सम्बन्ध विस्तारमा भूमिका खेलेको बताए । त्यस्तै, नेपाली राजकुमारी भृकुटीको तिब्बतका राजा स्रङचङ गम्पोसँगको वैवाहिक सम्बन्ध तथा नेपाली कलाकार अरनिकोले चीनमा पु¥याएको कला र वास्तुकलाको योगदानले पनि दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको उनको भनाइ थियो।

‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करणलाई प्राचीन ग्रन्थको अनुवाद मात्र नभई करिब १ हजार ४ सय वर्ष पुरानो ऐतिहासिक अभिलेख नेपाली भाषामार्फत नेपालमा ल्याउने महत्वपूर्ण प्रयासका रूपमा लिनुपर्ने अध्यक्ष दाहालले बताए। इतिहास बुझ्न र त्यसबाट सांस्कृतिक सम्बन्धलाई थप नजिक बनाउन यस्ता कृतिको महत्वपूर्ण भूमिका हुने उनले उल्लेख गरे ।

उनले पुस्तक नेपाली पाठक र विशेषगरी युवा पुस्तासम्म पुग्ने विश्वास व्यक्त गर्दै यसले नेपाल–चीन सम्बन्ध, बौद्ध धर्म तथा चिनियाँ ताङ वंशको इतिहास बुझ्न सहयोग गर्ने बताए ।

अध्यक्ष दाहालले नेपाल र चीनबीच सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बन्ध विभिन्न क्षेत्रमा विस्तार हुँदै आएको उल्लेख गरे । उनका अनुसार व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा जनस्तरको सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ। उनले चीनलाई नेपालको असल छिमेकी, महत्वपूर्ण लगानीकर्ता तथा विकास साझेदारका रूपमा चित्रण गरे।

उनले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को समेत चर्चा गर्दै ह्वेन साङले करिब १ हजार ४ सय वर्षअघि पैदल यात्रा गरेर ज्ञान र संस्कृतिको आदानप्रदान गरेको प्रसंगलाई आधुनिक समयमा सडक सञ्जालमार्फत विभिन्न मुलुकलाई जोड्ने प्रयाससँग तुलना गरे ।

अध्यक्ष दाहालले ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करणले नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाउन तथा दुवै देशका जनताबीचको ऐतिहासिक सम्बन्धबारे नयाँ पुस्तालाई जानकारी गराउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

उनले ह्वेन साङका अभिलेख र अरनिकोका कलाकृतिले नेपाल र चीनबीचको सम्बन्धमा ऐतिहासिक सेतुको भूमिका निर्वाह गरिरहने उल्लेख गर्दै दुई देशका जनताबीचको मित्रता आगामी पुस्तासम्म अझ गहिरो र सुदृढ हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: १४:०५ बजे, शुक्रबार, असोज २, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्