Kathmandu Press

रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

‘रसुवा विपदको सन्दर्भमा विदेशी दातृ निकायहरू र देशहरूले दिएका सामग्रीहरू आज त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेछन् । म भर्खरै त्यहाँबाट आउँदै छु,’ उनले भने ।
रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

काठमाडौं, असाेज १ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा विपदका लागि विदेशी दातृ निकाय तथा विभिन्न देशबाट आएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले आफू त्रिभुवन विमानस्थलको कार्गोबाटै आएको र त्यहाँ विपदका लागि आएका सामग्री लामो समयदेखि थन्किएको देखेको बताए ।

उनले विदेशीबाट आएका लत्ताकपडालगायतका सामग्री विमानस्थलमै थन्किएको र सम्बन्धित क्षेत्रमा पठाउन नसकिएको बताए । उनका अनुसार कार्गोमा रहेका कर्मचारीले कोरोना महामारीका बेला विदेशीबाट आएका २० कन्टेनर सामानसमेत खेर गएको बताएका थिए ।

‘रसुवा विपदको सन्दर्भमा विदेशी दातृ निकायहरू र देशहरूले दिएका सामग्रीहरू आज त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेछन् । म भर्खरै त्यहाँबाट आउँदै छु,’ उनले भने ।

न्यौपानेले जीटुजीमार्फत आएका सामग्रीसमेत थन्किएर बसेको र विभिन्न संस्थाबाट आएका सामग्री बुझ्न जाँदा भन्सार लाग्ने भनिएपछि सम्बन्धित व्यक्ति तथा संस्था फर्किने गरेको जानकारी आफूले पाएको बताए ।

उनले राहत सामग्री सम्बन्धित क्षेत्रमा पठाउन नसक्नुको कारण माग नआएको भन्ने गरिएको बताए ।

‘ती सामग्रीहरू किन पठाइएको छैन भन्दा सम्बन्धित क्षेत्रबाट माग आएको छैन भन्ने आवाज छ,’ उनले भने, ‘म सरकारको ध्यानाकर्षण गराउँछु, यी सामग्रीहरू जसरी आए, त्यसरी नै खेर नजाऊन् । माग छ कि छैन, सम्बन्धित क्षेत्रका नागरिकहरूलाई बुझियोस् ।’

उनले सम्बन्धित क्षेत्रमा आवश्यक नरहेको भए पनि राहत सामग्रीको उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे । विपत्का बेला आवश्यक पर्ने सामग्री विमानस्थलमा थन्काएर राख्दा भविष्यमा अन्य विपत्का क्षेत्रमा समेत समस्या हुनसक्ने उनको भनाइ थियो ।

‘विदेशीहरूले दिएका सामानहरू यत्रतत्र रूपमा एयरपोर्टमा अलपत्र रूपमा छाड्ने हो भने त्यसले राम्रो गर्दैन । अरू विपदहरूका लागि पनि ती सामग्रीहरू आवश्यकता पर्छन्,’ उनले भने ।

न्यौपानेले अहिले रसुवालगायत प्रभावित क्षेत्रमा ती सामग्री आवश्यक भए–नभएको तत्काल बुझेर आवश्यक सामग्री सम्बन्धित क्षेत्रमा पु¥याउन सरकारसँग माग गरे ।

‘एयरपोर्टमा अलपत्र सामान छाडेर नागरिकहरू पीडित भएका ठाउँमा मलमपट्टी गर्ने सामान नभएको समाचार सुन्न नपरोस्,’ उनले भने ।

प्रकाशित मिति: १५:३२ बजे, बिहीबार, असोज १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्