Kathmandu Press

मेलम्ची आयोजनाका प्रभावितका माग सम्बोधन गर्न सांसद दुलालको सरकारसँग आग्रह

दुलालका अनुसार मेलम्ची बाढी तथा खानेपानी आयोजनाबाट प्रभावित बाढीपीडित र स्थानीय भेन्डरका छुट्टाछुट्टै संघर्ष समितिले यसअघि पनि आयोजनाको मुहानमा पुगेर पानी पथान्तरण रोक्दै सरकारसँग विभिन्न चरणमा सहमति गर्दै आएका छन् ।
मेलम्ची आयोजनाका प्रभावितका माग सम्बोधन गर्न सांसद दुलालको सरकारसँग आग्रह

काठमाडौं, असाेज १ : नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय भेन्डर तथा बाढीपीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित भेन्डरहरूको संघर्ष समितिले आयोजना स्थलमा गाडी तथा कर्मचारी प्रवेशमा रोक लगाउने गरी आन्दोलन घोषणा गरेको बताए। यस्तो अवस्थाले मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित हुन सक्ने उनको भनाइ थियो ।

दुलालका अनुसार मेलम्ची बाढी तथा खानेपानी आयोजनाबाट प्रभावित बाढीपीडित र स्थानीय भेन्डरका छुट्टाछुट्टै संघर्ष समितिले यसअघि पनि आयोजनाको मुहानमा पुगेर पानी पथान्तरण रोक्दै सरकारसँग विभिन्न चरणमा सहमति गर्दै आएका छन् ।

बाढीपीडित संघर्ष समितिले प्रभावित क्षेत्रको पुनर्निर्माण, सडक निर्माण तथा नदीबाट क्षति पुगेका क्षेत्रको संरक्षणलाई प्रमुख माग बनाएको उनले बताए । यस्तै, स्थानीय भेन्डरहरूले सरकारबाट आफूले पाउनुपर्ने रकम भुक्तानीको माग गर्दै आएको दुलालले उल्लेख गरे।

समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिँदै दुलालले मेलम्चीदेखि हेलम्बु हुँदै मेलम्ची हेडवक्र्ससम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का अविलम्ब अघि बढाउन माग गरे ।

उनले मेलम्चीदेखि पाँचपोखरी–भोताङसम्मको सडकका लागि पनि बहुवर्षीय ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग आग्रह गरे ।

त्यसैगरी, मेलम्ची र इन्द्रावती दुवै नदीको तटीय क्षेत्र संरक्षणका लागि कार्यक्रम अघि बढाउन तथा स्थानीय भेन्डरहरूसँग सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न उनले माग गरे ।

 प्रभावितका माग सम्बोधन नगर्दा उनीहरू निरन्तर पीडित भइरहने र माग सम्बोधनका क्रममा आयोजनाको पानी पथान्तरणमा अवरोध हुने अवस्था सिर्जना भएको दुलालको भनाइ थियो ।

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, असोज १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्