नवलपुरमा महिलाको हत्या घटनाप्रति सांसद खनालको आपत्ति, कडा कारबाहीको माग
‘हत्याको शृङ्खला क्रमिक देखिएको छ भने मोडस अपरान्डी पनि उस्तै छ। यस्ता घटना किन बारम्बार दोहोरिरहेका छन् भनेर अध्ययन जरुरी छ,’ उनले भने।
काठमाडौं, भदाै ३० : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नवलपुरमा महिलाको हत्या भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै महिलाका लागि सुरक्षित समाज निर्माण गर्न आवश्यक कदम चाल्न माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले हरितालिका तीजको भोलिपल्ट नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ मा ४० वर्षीया उनीसरा विकको आफ्नै श्रीमान्बाट हत्या भएको घटना सार्वजनिक भएको बताए।
उनले प्रहरीबाट आरोपी पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी प्राप्त भएको भन्दै घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे।
खनालले सोही पालिका र वडामा यसअघि पनि तीजकै सेरोफेरोमा श्रीमतीको हत्या भएको घटना दोहोरिएको भन्दै यस्ता घटनाको कारणबारे गम्भीर अध्ययन आवश्यक रहेको बताए।
‘हत्याको शृङ्खला क्रमिक देखिएको छ भने मोडस अपरान्डी पनि उस्तै छ। यस्ता घटना किन बारम्बार दोहोरिरहेका छन् भनेर अध्ययन जरुरी छ,’ उनले भने।
उनले प्रश्न एक महिलाको हत्या र एक व्यक्तिमाथि कारबाही गर्ने विषयमा मात्र सीमित नभएको बताए। महिलाका लागि सुरक्षित समाज निर्माण गर्न राज्य र समाजले गरिरहेका प्रयासबारे गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ।
खनालले बालबालिकालाई सानैदेखि समता र समानुभूतिको शिक्षा दिनुपर्नेमा जोड दिए। उनले सामाजिक सञ्जाल तथा सार्वजनिक छलफलमा देखिने स्त्रीद्वेषी टिप्पणी र त्यसप्रतिको हलुका बुझाइले भविष्यमा गम्भीर समस्या निम्त्याउन सक्ने चेतावनी दिए।
‘एक बालकलाई ऊ हुर्किएर पुरुष हुँदै गर्दा समता र समानुभूतिको शिक्षामा जोड दिनु आवश्यक छ। आज सामाजिक सञ्जालहरूमा र सार्वजनिक छलफलहरूमा आउने स्त्रीद्वेषी टिप्पणीहरू र त्यसमाथिको हाम्रो हलुका बुझाइले आज डरलाग्दो भविष्यको सङ्केत गरिराखेको छ,’उनले भने।
उनले सभामुखमार्फत सरकार र समाजलाई महिलालाई सुरक्षित वातावरण निर्माण गर्न आवश्यक सबै कदम तत्काल चाल्न आग्रह गरे।
‘हरेक तवरले महिलालाई सुरक्षित बन्ने वातावरण सिर्जना गर्न आवश्यक हर कदम अविलम्ब चाल्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ खनालले भने। उनले महिलाले सुरक्षित महसुस गर्ने वातावरण बने मात्र सही अर्थमा हरितालिका तीज मनाउन सकिने बताए।



-1789461333.png)




-1789461333.png)


