Kathmandu Press

सरकारले ‘द ग्रे जोन’को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : डा.भट्टराई

उनले सत्तामा रहेका व्यक्तिहरूले स्पष्ट जवाफ दिनुपर्ने साथै आरोप वा प्रचारको वास्तविकता के हो भन्नेबारे सरकारले चित्तबुझ्दो ढंगले प्रस्ट पार्नुपर्ने उनको भनाइ छ।
सरकारले ‘द ग्रे जोन’को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : डा.भट्टराई

काठमाडौं, भदाै ३० : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू जिम्मेवार र विनम्र भएर काम गर्न सुझाव दिएका छन्। उनले नयाँ व्यक्तिहरू सरकारमा आएकाले राज्य सञ्चालनको अनुभव लिन समय लाग्ने भन्दै भएका कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका हुन्। 

भट्टराईले सरकारमा रहेका व्यक्तिहरूले आफूलाई सबै कुरा थाहा भएको ठान्न नहुने बताए । संसारमा सिक्ने कुरा कहिल्यै नसकिने भन्दै उनले नयाँ पुस्ताले पुरानाबाट सिक्दै र पुरानाले पनि नयाँलाई सहयोग गर्दै अघि बढ्नुपर्ने धारणा राखे। 

‘सरकारले गरिरहेको कामबारेमा भन्नुपर्दा भर्खरै ठूलो विपत्ति आएकाले केही जटिलताहरु देखिएका छन्। केही कठिनाईहरु भइरहेको होला। उहाँहरू धेरैजसो पहिलोचोटि फरक फरक अनुभव गरिरहनु भएको छ । हालै राष्ट्रिय सभाका केही मान्छे पहिले सांसद भएका एकाध मन्त्री हुनुभयो,’ उनले भने, ‘नत्र धेरै जना नयाँ व्यक्तिहरू यहाँ आउनुभएको छ। त्यसैले राज्य सञ्चालन गर्ने कुरा, स्टेट क्राफ्ट भन्छन् नि, त्यो चाहिँ किताब पढेर मात्रै पनि नहुने रहेछ । व्यवहारमा सिक्ने र जान्ने कुरा पनि हो । त्यसैले सिक्ने कुरा समयको माग पनि हो।’

भट्टराईले सरकारका कमीकमजोरीलाई लिएर अहिले नै ‘बर्बाद भयो, सिद्धियो’ भन्ने ढंगले आलोचना गर्नु उचित नहुने बताए । तर सरकारमा रहेका व्यक्तिहरू भने सिक्ने क्रममा विनम्र हुनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘उहाँहरू(सरकार र सदन)ले सिक्नुपर्छ । त्यसका लागि विनम्र हुनुपर्छ। मैले सबै जानेको छु, कसैसँग सिक्न जरुरी छैन, हामी त सिकाउन आएको हौँ’ भनेजस्तो कुरा गरेर हुन्न । सिक्ने कुरा भनेको कहिले पनि सकिदैन । त्यसैले उहाँहरू विनम्र भएर सिक्ने प्रयत्न गर्दा राम्रो हुन्छ । अरुले इख राखेर देखाइदिन्छु भन्ने पनि गर्नुहुँदैन् । अलिकति भएको गल्तीलाई पनि बढाइचढाइ गरेर खुट्टा तान्ने, पछार्ने ढङ्गले जानुहुँदैन ।’

उनले ‘पुरानाले नयाँलाई सहयोग गर्ने, नयाँ पनि विनम्र बनेर सिक्दै अगाडि बढ्ने—यो नै अबको बाटो हो’ भन्दै सरकारलाई सुझाव दिए ।

प्रधानमन्त्री बालेन्द्र साहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गर्दै अमेरिकी सञ्चारमाध्यम ‘द ग्रे जोन’ले सार्वजनिक गरेको खोजमूलक समाचारका बारेमा डा.भट्टराईले जिम्मेवार व्यक्तिहरुले जवाफ दिनुपर्ने पनि बताए। 

उनले सत्तामा रहेका व्यक्तिहरूले स्पष्ट जवाफ दिनुपर्ने साथै आरोप वा प्रचारको वास्तविकता के हो भन्नेबारे सरकारले चित्तबुझ्दो ढंगले प्रस्ट पार्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘ग्रे जोन रिपोर्ट मैले पनि हेरें । सायद मैंले नै होला सबैभन्दा पहिले यसबारे जवाफ दिनुस् है भनेर ट्विटरमा लेखेको । किनकि राजनीतिमा त अनेक चिजहरू हुन्छन्, कतिपय मान्छेले दुष्प्रचार पनि गर्छन् । तर लोकतन्त्रमा कसैले आरोप लगाइसकेपछि त्यो के हो भन्ने कुराको सत्तामा हुनेहरूले चित्तबुझ्दो ढङ्गले जवाफ दिनुपर्छ । ‘यति हो, यति होइन’ अथवा ‘यो पूरै होइन’ भनेर उहाँहरू बोल्नुपर्छ।’

उनले सबै राजनीतिक परिवर्तन तथा घटनालाई विदेशी शक्तिसँग जोडेर हेर्ने प्रवृत्ति गलत भएको पनि उनले बताए । तर नेपालजस्तो भू–राजनीतिक रूपमा संवेदनशील मुलुकमा ठूला शक्तिहरूको चासो नहुने भनेर पनि भन्न नसकिने उनको भनाइ छ ।

‘यदि कसैले षड्यन्त्रकै सिद्धान्त आविष्कार गरेर ‘सबै बाहिरकाले मात्रै गर्‍यो’ भन्न थाल्नु गलत हुन्छ । एकथरीमा त्यो दृष्टिकोण पनि छ । जे परिवर्तन आउँछ, त्यो विदेशीले गरिदियो, कहिले भारतले, कहिले अमेरिकाले भन्ने चलन छ, त्यो खराब प्रचलन हो,’ उनले भने।

 

प्रकाशित मिति: १२:१७ बजे, मंगलबार, भदौ ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्