व्यवसायी भीमप्रसाद घिमिरेलाई एक्सिलेन्स अवार्ड
घिमिरेले आगामी दिनमा पनि उद्योग–व्यवसायको विकाससँगै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै युवा पुस्ताका लागि स्वदेशमै अवसर सिर्जना गर्ने अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
माेरङ, भदाै २९ : विराटनगरका प्रतिष्ठित व्यवसायी भीमप्रसाद घिमिरेले उद्योग तथा व्यापारको क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि पुर्याउँदै आएको योगदानको कदरस्वरूप ‘Industrial & Business Leadership Excellence Award’ प्राप्त गरेका छन्।
कोशी प्रदेशमा रहेर उद्योग–व्यवसायको विकास, रोजगारी सिर्जना, उद्यमशीलताको प्रवर्द्धन, संस्थागत नेतृत्व तथा सामाजिक सेवामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै घिमिरेलाई उक्त सम्मान प्रदान गरिएको हो।
सिजन मिडिया नेपालले आफ्नो १८औँ स्थापना दिवसका अवसरमा काठमाडौँस्थित होटेल हिमालयमा आयोजना गरेको विशेष कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले घिमिरेलाई ट्रफीसहित ‘Industrial & Business Leadership Excellence Award’ प्रदान गरेका हुन्।
सम्मानपत्रमा सामान्य तथा विपन्न पारिवारिक परिवेशबाट जीवनयात्रा सुरु गरेका घिमिरेले दृढ सङ्कल्प, अथक परिश्रम, इमानदारी, दूरदृष्टि र सकारात्मक सोचका माध्यमबाट व्यावसायिक सफलता हासिल गरेको उल्लेख गरिएको छ।
सङ्घर्षपूर्ण अवस्थाबाट सुरु भएको उनको उद्यमशील यात्रा अहिले उद्योग–व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत उदाहरणीय बनेको सम्मानपत्रमा उल्लेख छ।
व्यवसायलाई नाफा आर्जन गर्ने माध्यमका रूपमा मात्र नभई समाज र राष्ट्र निर्माणको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने मान्यतालाई घिमिरेले आफ्नो व्यवहार र कार्यशैलीमार्फत स्थापित गरेको पनि सम्मानपत्रमा उल्लेख गरिएको छ।
विभिन्न व्यावसायिक तथा सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका घिमिरेले युवा पुस्तालाई उद्यमशीलतातर्फ आकर्षित गर्न र स्वदेशमै अवसर सिर्जना गर्न निरन्तर प्रेरित गर्दै आएका छन्।
व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएका घिमिरे शिक्षा, स्वास्थ्य, सामाजिक कल्याण तथा समुदाय विकासका क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। उनको नेतृत्वमा उद्योग–व्यवसायसँग सम्बन्धित गतिविधिसँगै सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई समेत अघि बढाउने प्रयास हुँदै आएको छ।
घिमिरेको व्यावसायिक यात्रा सामान्य पारिवारिक पृष्ठभूमिबाट सङ्घर्ष गर्दै अघि बढेर उद्योग–व्यवसायको क्षेत्रमा स्थापित हुने यात्राका रूपमा समेत लिइन्छ।
उनले आफूले हासिल गरेको व्यावसायिक अनुभवलाई नयाँ पुस्तासँग जोड्दै उद्यमशीलता, रोजगारी सिर्जना र स्वदेशमै सम्भावना खोज्ने वातावरण निर्माणमा जोड दिँदै आएका छन्।
सिजन मिडिया नेपालका अध्यक्ष प्रदीपराज वन्तले नेपाल तथा विभिन्न एसियाली मुलुकका व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, संस्कृति, सामाजिक सेवा तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सफल व्यवसायी, पेशाकर्मी तथा व्यक्तित्वलाई कार्यक्रममा सम्मान तथा अवार्ड प्रदान गरिएको बताए।
कार्यक्रममा वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटासहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो।
सम्मान ग्रहणपछि घिमिरेले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए। उनले व्यावसायिक सफलतासँगै शिक्षा, स्वास्थ्य, सामाजिक कल्याण तथा समुदाय विकासका क्षेत्रमा अझ प्रभावकारी योगदान पुर्याउन आफूलाई थप प्रेरणा मिलेको बताए।
घिमिरेले आगामी दिनमा पनि उद्योग–व्यवसायको विकाससँगै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै युवा पुस्ताका लागि स्वदेशमै अवसर सिर्जना गर्ने अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
घिमिरे नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका संस्थापक अध्यक्ष तथा हाल केन्द्रीय उपाध्यक्ष हुन्। उनी लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट एवानका पूर्वगभर्नर, उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष, टंकिसिनुवारी जेसीजका संस्थापक अध्यक्षसमेत हुन्।











