Kathmandu Press

विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल

‘विद्यार्थी भाइबहिनीले दिएका सुझाव र गुनासो अत्यन्तै मार्मिक छन्,’ उनले भने, ‘उहाँहरूले दिएका सुझावलाई सम्बोधन गरेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माण गर्ने दिशामा अघि बढ्छौँ ।’
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौं,भदाै २९ : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएका छन् ।

मधेश प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उनले विद्यार्थीले दिएका सुझाव र गुनासो शिक्षा सुधारका लागि महत्वपूर्ण रहेको बताउँदै प्राप्त सुझावलाई समेटेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिए।

उनले काठमाडौंमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई अन्त्य गर्नुपर्ने बताए । ‘विद्यार्थी भाइबहिनीले दिएका सुझाव र गुनासो अत्यन्तै मार्मिक छन्,’ उनले भने, ‘उहाँहरूले दिएका सुझावलाई सम्बोधन गरेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माण गर्ने दिशामा अघि बढ्छौँ ।’

भदौ २६ गते धनुषाबाट सुरु भएको मन्त्रीसहितको टोलीको मधेश यात्रा सप्तरीको महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएको थियो । यात्राका क्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायसँग शिक्षा क्षेत्रका समस्या, आवश्यकता तथा सुधारका विषयमा सुझाव संकलन गरिएको थियो । 

मन्त्री पोखरेलका अनुसार यात्राका क्रममा काठमाडौंमा बसेर सहजै जानकारी नहुने शिक्षा क्षेत्रका स्थानीय समस्या तथा व्यावहारिक चुनौतीबारे प्रत्यक्ष जानकारी प्राप्त भएको छ । कक्षाकोठादेखि समुदायसम्म पुगेर संकलन गरिएका अनुभव र सुझावले आगामी शिक्षा ऐनलगायतका कानुन तथा नयाँ राष्ट्रिय पाठ्यक्रम निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने उनको भनाइ छ । 

उनले मधेशमा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको आवश्यकता अत्यन्तै ठूलो रहेको बताए । कृषि शिक्षा विस्तार तथा कृषि कलेज स्थापना पनि मधेशका लागि महत्वपूर्ण आवश्यकता रहेको उनले उल्लेख गरे । 

प्रकाशित मिति: ११:१७ बजे, सोमबार, भदौ २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्