बलिउडका यी संगीतकार, जसको जोडी बीचमै टुट्यो
काठमाडौं, जेठ १९ : संगीतकार साजिद–वाजिदको जोडी बलिउडको चर्चित जोडी मध्येको एक हो। तर, आइतबार राति वाजिदको निधन भयो। यासँगै साजिद–वाजिदको ज....
काठमाडौं, जेठ १९ : संगीतकार साजिद–वाजिदको जोडी बलिउडको चर्चित जोडी मध्येको एक हो। तर, आइतबार राति वाजिदको निधन भयो। यासँगै साजिद–वाजिदको जोडी टुटेको छ।
४२ वर्षीय वाजिद मिर्गौला सम्बन्धि समस्याबाट पीडित थिए। सँगै उनलाई कोरोना भाइरसको संक्रमणसमेत भएको थियो। जसका कारण उनले संसारसँग अलविदा भनेका छन्। साजिद–वाजितको मात्रै होइन, यसअघि पनि बलिउडका चर्चित जोडी टुटेका थिए।
यही हुन् बीचमै छुटेका बलिउड संगीतकारका पाँच चर्चित जोडी
१. साजिद–वाजिद
बलिउडको सबैभन्दा चर्चित जोडी मध्येको एक साजिद–वाजिदको जोडी टुटेको छ। वाजिदको आइतबार राति निधन भयो। उनको निधन मुम्बईको चेम्बूरस्थित सरराणा सोठिया अस्पतालमा भयो। उनी मिर्गौला र घाँटीको इन्फेन्सनसँग जुधिरहेका थिए। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनी तीन महिना यता अस्पतालमा भर्ना भएका थिए। उनी चार दिनदेखि भेन्टिलेटरमा उपचाररत थिए।
वाजिद खानले भाइ साजिदसँग मिलेर सन् १९९८ मा आएको सलमान खान र काजोलको स्टाटर फिल्म ‘प्यार किया तो डरना क्या’बाट आफ्नो करियरको सुरुवात गरेका थिए। उक्त फिल्मका गीत निकै हिट भएका थिए। त्यसपछि दुवै भाइले पछि फर्किएर हेर्नु परेन। उनीहरुले सलमान खानका लागि सबैभन्दा धेरै म्युजिक कम्पोज गरेका छन्। साजिद–वाजिदले सलमान खानको फिल्म ‘तेरे नाम’, ‘मुझसे सादी करोगी’, ‘पार्टनर’, ‘हेलो’, ‘गड तुसी ग्रेट हो’, ‘वान्टेड’, ‘वीर’, ‘दबंग (सिरिज)’, ‘एक था टाइगर’ जस्ता फिल्ममा हिट संगीत दिएका थिए।
वाजिदको निधन भएपछि साजिद अब एक्लै बनेका छन्। बलिउड इन्ड्रस्टीले एक राम्रा कम्पोजरलाई गुमाएको छ। अब वाजिदको निधन भएपछि साजिदले म्यूजिकमा पहिले जस्तै कमाल देखाउलान्? यो प्रश्न जवाफ आगामी दिनमा आउने नै छ।
२. शंकर–जयकिशन
बलिउडको सुरुवात हुने बित्तिकै अर्थात सन् १९५० र १९६० को दशकमा शंकर सिंह रघुवंशी र जयकिसन जयभाई पञ्चाल चर्चित थिए। उनीहरुको शानदार म्युजिकका कारण उनीहरुले करिब डेढ दशकसम्म बलिउडमा राज गरेका थिए। दुवैले मोहम्मद रफी, मन डे र मुकेश जस्ता उत्कृष्ट गायकका लागि संगीत दिएका थिए। बलिउडको यो उत्कृष्ट जोडीले ‘अवारा’, ‘बरसात’, ‘सीमा’, ‘चोरी–चोरी’, ‘अनाडी’, ‘यहुदी’, ‘श्री ४२०’, ‘जंगली’, ‘मेरा नाम जोकर’, ‘दिल अपना प्रीत पराई,’ ‘अम्रपाली’, ‘प्रिन्स’, ‘पगला कहिँ का’ जस्ता फिल्ममा संगीत दिएका थिए।
यो जोडीले बेस्ट म्युजिक डाइरेक्टरका लागि ९ पटक फिल्मफेयर जितेका थिए। यो रेकर्ड हालै एआर रहमानले तोडेका छन्। शंकर–जयकिसनको जोडी जमिरहेको थियो। तर, १२ सेप्टेम्बर १९७१ मा जयकिशनको निधन भयो। उनी कलेजो सम्बन्धि रोगसँग जुधिरहेका थिए। जयकिसनको निधन भएको १५ वर्षपछि १९८७ मा शंकरको निधन भयो। त्यो बेला मिडियामा यो चर्चित जोडीका बारेमा चर्चा भएको थियो। तर, बलिउडले भने शंकरलाई भुलिसकेको थियो। उनको अन्तिम संस्कारमा केवल परिवारका मानिस र साथी समावेश थिए। बलिउडका कोही पनि व्यक्ति अन्तिम संस्कारमा सहभागी भएनन्।
३. लक्ष्मीकान्त–प्यारेलाल
शंकर–जयकिसनपछि कुनै जोडीलाई सफलता मिल्यो भने त्यो थिए लक्ष्मीकान्त–प्यारेलाल अर्थात लक्ष्मीकान्त शानताराम कुडलकर र प्यारेलाल रामप्रसा शर्माको जोडी। यो जोडीले बलिउठमा तीन दशकसम्म काम गर्यो। यो जोडीले सन् १९६३ मा आएको फिल्म ‘पारसमनी’बाट बलिउडमा इन्ट्री गरेको थियो। फिल्मका गीत निकै हिट भएका थिए। फिरकीवाला गीत त आज पनि मानिसले मन पराउछन्। त्यसपछि उनीहरुको सफलताले गति लियो। उनीहरुले सन् १९६०–७० र १९८० को दशकको समयमा ‘दोस्ती’, ‘लुटेरा’, ‘आए दिन बहारके’, ‘सत्यम शिवम सन्दरम’, ‘शागिर्द,’ ‘अमर अकबर एन्थोनी,’ ‘एक दुजे के लिए,’ ‘हिरो मी इन्डिया,’ ‘तेजाब,’ ‘रामलखन,’ ‘सौदागर,’ ‘खलनायक,’ ‘खुदा गवाह’ जस्ता फिल्ममा संगीत दिए।
आज पनि मानिसले यी फिल्मका गीत सुन्छन्। लक्ष्मीकान्त–प्यारेलालको जोडी सन् १९९८ मा टुट्न पुग्यो। २५ मे मा लक्ष्मीकान्तको निधन भयो। त्यसपछि प्यारेलाल एक्लै परे। उनले स्वतन्त्ररुपमा कम्पोज सुरु गरे। तर, उनले सधैँ आफ्नो नाम लक्ष्मीकान्त–प्यारेलाल लेख्दै आएका छन्।
४. कल्याणजी–आनन्दजी
कल्याणजी–आन्दजीको वास्तविक नाम कल्याणजी विर्जी शाह र आनन्द विर्जी शाह हो। दुवै भाइ बलिउडमा म्युजिक कम्पोज गर्नुभन्दा पहिला किराना स्टोर चलाउँथे र आर्केस्टा बजाउँथे। सन् १९५९ मा आएको फिल्म ‘सम्राट चन्द्रपुप्त’ उनीहरुको पहिलो फिल्म थियो। त्यसपछि ‘सट्टा बजार र मदारी,’ ‘छलिया,’ ‘हिमालयकी गोद में,’ ‘जबजब फूल खिले,’ जस्ता सुपरहिट फिल्ममा कम्पोज गरे।
दुवैले कूल २५० फिल्ममा म्युजिक कम्पोज गरे। जसमा १७ गोल्डेन जुब्ली र ३९ सिल्बर जुब्ली रहे। कल्याणजी–आनन्दवीले दिलीपकुमार, अमिताभ बच्चन, अनिल कपूर, कुमार सानू, साधान सरमग, उदित नारायण, सुनिधी जस्ता ठूला कलाकार र गायकका साथमा काम गरे। फिल्म ‘डन’को गीत ‘ए मेरा दिल’ ले ग्रेमी अवार्ड जितेको थियो। सन् २०० मा कल्याणजीको निधन भयो। त्यसपछि यो जोडी टुट्न पुग्यो।
५. जतिन–ललित
जतिन पण्डित र ललित पण्डितको म्युजिकलाई आजको जनेरेसनले समेत चिन्छ। दुवै भाइले धेरै सुपरहिट गीत दिएका छन् र अवार्ड जितेका छन्। उनीहरुले सन् १९९१ मा आएको फिल्म ‘यादा–दिलदारा’ बाट आफ्नो फिल्मी करियर सुरुवात गरेका थिए। फिल्मको म्युजिक निकै मन पराइएको थियो।
यो जोडीले ९० को दशकमा ‘दिलवाले दुल्हनिया ले जाएंगे,’ ‘गुलाम,’ ‘सरफरोश,’ ‘हम तुम,’ ‘कुछ–कुछ होता है,’ ‘एस बोस,’ ‘प्यार तो होना ही था,’ ‘राजु चाचा,’ ‘आँखे,’ ‘कभी हाँ कभी ना,’ ‘चलते चलते,’ ‘राजू बन गया जेन्टलमेन,’ ‘फिर भी दिल है हिन्दुस्तानी,’ ‘ढाई अक्षर प्रेम के खिलाडी,’ जस्ता सुपरहिट फिल्ममा म्युजिक दिएका थिए।
यो जोडीलाई बेस्ट म्युजिक कम्पोजरको क्याटगोरीमा ११ पटक नोमिनेस मिलेको थियो। तर एक पटक पनि अवार्ड भने जित्न सकेनन्। भनिन्छ की शाहरुख खानलाई रोमान्स किङ बनाउन उनीहरुकै संगीतको हात छ। १६ वर्षसँगै काम गरेपछि यो जोडी टुटेको थियो। सन् २००६ मा फिल्म ‘फना’को रिलिज हुनुपूर्व उनीहरुले निजी कारण देखाउँदै अलग भएर काम सुरु गरे। ललितले एक्लै ‘अकले लाइफ मे कभी कभी,’ ‘रोबिज,’ ‘हर्न ओके प्लिज’ र ‘दुल्हा मिल गया’मा संगीत थिए। जतिनले ‘एम २४’मा संगीत दिएका थिए।