Kathmandu Press

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?

बागमती प्रदेशअन्तर्गत काभ्रेस्थित वि.पि. राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ७ देखि बिहान ५ बजेसम्म १० टनसम्मका मालबाहक सवारी सञ्चालनमा रोक लगाइएको छ।
बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?

काठमाडौं, भदाैं२६ :बाढी र पहिरोका कारण बागमती र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् । पछिल्लो विवरणअनुसार मुख्य सडक खण्डहरूमा यातायात आवागमन प्रभावित बनेको छ ।

बागमती प्रदेशअन्तर्गत काभ्रेस्थित वि.पि. राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ७ देखि बिहान ५ बजेसम्म १० टनसम्मका मालबाहक सवारी सञ्चालनमा रोक लगाइएको छ।

अन्य समयमा भने बिहान ४ देखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरी मात्र सवारी सञ्चालन गर्न दिइएको छ । 

रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्डअन्तर्गत आएको बाढीले सडक लामो समयका लागि पूर्ण रूपमा अवरुद्ध बनाएको छ । त्यस्तै, रसुवाका अन्य मुख्य राजमार्गहरू पनि अर्को सूचना नआएसम्मका लागि पूर्ण बन्द छन् । 

नुवाकोटस्थित टोखा–छहरे सडक खण्डको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढी र पहिरोको जोखिमका कारण राति १० देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने पासाङ ल्हामु सडक खण्डको बेत्रावती–१० सिमटारमा बाढीका कारण सडक पूर्ण रूपमा बन्द छ ।

पृथ्वी राजमार्गका विभिन्न खण्डमा पनि पहिरोले क्षति पुर्‍याएको छ । धादिङको बेनीघाट रोराङ–७ कृष्ण भिर र थाक्रे गाउँपालिका–२ कमेरेभिरमा ठूलो पहिरो खस्दा सडक पूर्ण अवरुद्ध भएको छ । यद्यपि, धादिङ र चितवन सीमास्थित जबाङखोला तथा थाक्रे–२ बाह्रकिलो खण्डमा भने पहिरो पन्छाएर सवारी एकतर्फी सुचारु गरिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ ।

उता कर्णाली प्रदेशअन्तर्गत मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा पहिरो खस्दा मुगु–गमगढी सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ ।

सडक विभाग र सुरक्षाकर्मीको टोलीले पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । सम्बन्धित निकायले यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: ०८:०३ बजे, शुक्रबार, भदौ २६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्