Kathmandu Press

होटल याक एण्ड यतीद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग

विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको होटलले जनाएको छ।
होटल याक एण्ड यतीद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग

काठमाडौं, भदाै २४ : पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।

विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको होटलले जनाएको छ।

होटलका निर्देशक अरुण कुमार सर्राफ, उनकी आमा रत्ना देवी सर्राफ र भाइ उमेश सर्राफसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको हो।

होटल व्यवसायी अरुण कुमार सर्राफ होटल याक एण्ड यतीका साथै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी, काठमाडौं)का समेत सञ्चालक हुन्।  

उनले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोगले केही योगदान पुग्ने विश्वास व्यक्त गर्दै आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यती नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको पुरानो र प्रतिष्ठित नाम हो। ऐतिहासिक लाल दरबारलाई समेटेर विकास गरिएको होटल सन् १९७७ देखि सञ्चालनमा आएको हो।

व्यवसायसँगै सम्पदा संरक्षण, वातावरणीय दिगोपन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सर्राफ परिवारले विभिन्न पहललाई निरन्तरता दिँदै आएको छ। होटल याक एण्ड यतीले बाढी प्रभावितका लागि उपलब्ध गराएको पछिल्लो सहयोगलाई पनि सोही सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा लिइएको छ।
 

प्रकाशित मिति: १४:५५ बजे, बुधबार, भदौ २४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्