बाढीपीडितलाई महिला पर्यटन व्यवसायी सञ्जालको राहत
सञ्जालकी अध्यक्ष जय बरालको नेतृत्वमा ६ सदस्यीय टोली राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको थियो । टोलीले बाढीपीडितका लागि संकलित राहत सामग्री नुवाकोटको बट्टारस्थित आर्मी ब्यारेक क्याम्पमार्फत प्रभावित परिवारसम्म पुग्ने गरी हस्तान्तरण गरेको सञ्जालले जनाएको छ ।
काठमाडौँ, भदौं २३ : रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि महिला पर्यटन व्यवसायी सञ्जालले राहत तथा आर्थिक सहयोग गरेको छ । ‘विपद्मा मानवीय साथ’ भन्ने उद्देश्यसहित सञ्जालले खाद्यान्न, लत्ताकपडा, औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउनुका साथै बचत भएको रकम सरकारी कोषमा जम्मा गरेको हो ।
सञ्जालकी अध्यक्ष जय बरालको नेतृत्वमा ६ सदस्यीय टोली राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको थियो । टोलीले बाढीपीडितका लागि संकलित राहत सामग्री नुवाकोटको बट्टारस्थित आर्मी ब्यारेक क्याम्पमार्फत प्रभावित परिवारसम्म पुग्ने गरी हस्तान्तरण गरेको सञ्जालले जनाएको छ ।
संस्थाका अनुसार मानवीय अभियानका लागि सञ्जालका सदस्यहरूबाट १ लाख २५ हजार रुपैयाँ तथा गैर–सदस्य सहयोगीहरूबाट १७ हजार रुपैयाँ गरी कुल १ लाख ४२ हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो ।
संकलित रकममध्ये ३८ हजार रुपैयाँ बराबरको अत्यावश्यक खाद्यान्न सामग्री खरिद गरी पीडितहरूलाई उपलब्ध गराइएको थियो । यसरी खाद्यान्नसहित करिब १ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रभावित परिवारसम्म पुग्ने गरी हस्तान्तरण गरिएको सञ्जालले जनाएको छ ।
यसका अतिरिक्त, सञ्जालमा आबद्ध सदस्यहरूले व्यक्तिगत रूपमा करिब ७० हजार रुपैयाँ बराबरको लत्ताकपडा, औषधि तथा अन्य स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएका थिए । राहत सामग्रीका लागि संकलित रकममध्ये खर्च कटाएर बाँकी रहेको १ लाख ५ हजार रुपैयाँ भने सञ्जालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
‘व्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गर्नु हाम्रो कर्तव्य हो,’ संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विपद्को यस कठिन समयमा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै राहत र पुनस्र्थापनाका लागि सानो भए पनि सहयोग गर्न पाउनु हाम्रो साझा मानवीय जिम्मेवारी हो ।’
अभियानमा आर्थिक, भौतिक तथा नैतिक रूपमा साथ दिने सम्पूर्ण सदस्य तथा शुभेच्छुकप्रति सञ्जालले आभार व्यक्त गरेको छ । पर्यटन क्षेत्रमा आबद्ध महिला उद्यमीहरूको यो सक्रियताले विपद्का बेला निजी क्षेत्र र सामाजिक संस्थाले निर्वाह गर्न सक्ने सामाजिक उत्तरदायित्वको भूमिकालाई समेत उजागर गरेको छ ।











