Kathmandu Press

सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए

पानीको बहाव खतराको तहमा पुग्न थालेपछि ब्यारेजमा चेतावनीस्वरूप रातो बत्ती बालिएको र रातो झण्डा फहराइएको छ। प्रहरीले सप्तकोशी नदी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए

सुनसरी, भदाै २२ : पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ। पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ।

सुनसरी प्रहरीले सोमबार दिउँसो १२ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर २ लाख ७ हजार ४३५ क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको जनाएको छ। 

बढ्दो बहावलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका मुख्य ५२ ढोका र नहरका ४ गरी कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

पानीको बहाव खतराको तहमा पुग्न थालेपछि ब्यारेजमा चेतावनीस्वरूप रातो बत्ती बालिएको र रातो झण्डा फहराइएको छ। प्रहरीले सप्तकोशी नदी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नदीको जलसतह र बहावको अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ। जोखिमयुक्त तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन तथा नदी किनारका गतिविधि नगर्न समेत अनुरोध गरिएको छ। लगातारको वर्षासँगै सप्तकोशीको बहाव अझ बढ्न सक्ने भएकाले सम्बन्धित निकायले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन्।

प्रकाशित मिति: १५:४९ बजे, सोमबार, भदौ २२, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्