सञ्चारमन्त्रीले लिए रसुवा बाढीका घाइतेहरूको अवस्थाबारे जानकारी
घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री तिमिल्सिनाले बाढीका कारण रसुवाको टिमुरेदेखि देवीघाटसम्मका विभिन्न क्षेत्रमा ठूलो क्षति भएको बताए।
काठमाडौं, भदाै १९ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी घाइते भई उपचाररत बिरामीहरूसँग भेटघाट गरेका छन्।
मन्त्री तिमिल्सिनाले शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री तिमिल्सिनाले बाढीका कारण रसुवाको टिमुरेदेखि देवीघाटसम्मका विभिन्न क्षेत्रमा ठूलो क्षति भएको बताए।
उनले भने, ‘बाढीमा परी घाइते भएर उपचार गराइरहनुभएका व्यक्तिहरूसँग भेटघाट ग¥यौँ। उहाँहरू निकै प्रभावित क्षेत्र टिमुरेदेखि तल देवीघाटसम्मका विभिन्न ठाउँमा रहँदा बाढीमा परी घाइते हुनुभएको रहेछ। हरेक दिन बाढीको कुरा गरिरहँदा र जहाँ जाँदा पनि यो एउटा अकल्पनीय महाविपत्ति हो भन्ने महसुस हुन्छ। त्यसैले अत्यन्त दुःख लागेको छ।’
मन्त्री तिमिल्सिनाले घाइतेहरू उद्धार भएर उपचाररत हुनु सकारात्मक पक्ष भए पनि उनीहरूका परिवार, आफन्त तथा गाउँलेहरू बाढीमा परी बेपत्ता वा मृत्यु भएको खबर अत्यन्त दुःखद रहेको बताए।
‘उहाँहरूको अवस्था हेरेपछि र कुरा सुनिसकेपछि सकारात्मक कुरा के हो भने उहाँहरू उद्धार भएर आएर उपचार गराइरहनुभएको छ। तर दुःखको कुरा, उहाँहरूसँगै घरमा बस्ने परिवार, आफन्त, गाउँले तथा नातागोताका धेरै मानिसलाई बाढीले बगाएर लगेको छ। त्यो एकदमै दुःखको कुरा हो,’ उनले भने।
उनले घाइतेहरूको उपचारको अवस्था, अस्पतालबाट उपलब्ध गराइँदै आएको स्वास्थ्य सेवा तथा उपचारका क्रममा देखिएका समस्याबारे चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग विस्तृत जानकारीसमेत लिएका छन्।











-1788524800.jpg)