कृष्णभीर पहिरो स् १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारी, त्रिभुवन र कान्ति राजपथ वैकल्पिक रुट
त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।
काठमाडौं, भदाै १८ : धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ।
त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले तत्कालका लागि त्रिभुवन राजपथ र कान्ति राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको बताएका छन्।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै न्यौपानेले ठूला सवारीसाधनसमेत त्रिभुवन राजपथबाट सञ्चालन गर्न सकिने बताए । उनले सडक साँघुरो भएपनि यसअघि पनि उक्त मार्गबाट सवारीसाधन सञ्चालन हुँदै आएको जानकारी दिए।
‘वैकल्पिक रुटका लागि हाम्रो प्लानिङ भनेको अहिलेलाई त्रिभुवन राजपथ र कान्ति राजपथ नै हो, अरू बाटोहरू पनि खुलाउने तयारी गर्दैछौँ,’ उनले भने।
कृष्णभीरमा तत्कालै स्थायी पुनर्निर्माण गर्न समय लाग्ने भएपनि अस्थायी रूपमा ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।
‘पुनर्निर्माण हुन त समय लाग्ला तर अस्थायी रूपमा ट्र्याक खोल्ने र सडक सञ्चालन ल्याउनका लागि १५ दिनको योजना बनाएका छौं,’ न्यौपानेले भने।
त्रिशूलीको बहाव परिवर्तनले जोखिम बढायो
न्यौपानेका अनुसार त्रिशूली नदीको बहाव परिवर्तन भएर सडकतर्फ कटान सुरु भएकाले पूर्वाधारमा जोखिम बढेको छ।
‘खोलाको बहाव चेन्ज भएको छ। रोडको साइडतिर खोला बग्न थालेको छ। त्यसले सडकमुनि कटान गरेर ड्यामेज गराइरहेको छ’ उनले भने।
उनका अनुसार नदीको सतहसमेत बढेकाले आगामी बाढीमा सडकसम्मै पानी आउने सम्भावना बढेको छ।
‘नदीमा पानीको लेभल नै बढेको छ । रोडसम्मै बाढी आउने सम्भावना बढेर गएको छ। थप ड्यामेजको रिस्क,’ उनले बताए।
वैकल्पिक मार्ग सञ्चालनका लागि अन्य कुन–कुन स्थानमा तत्काल सडक चौडा वा मर्मत गर्नुपर्ने भन्ने विषयमा विभागले अध्ययन गरिरहेको र हालसम्म त्यसबारे ठोस निर्णय भइनसकेको उनले जानकारी दिए।











