Kathmandu Press

नेपालकै पहिलो नवग्रह मन्दिरमा ‘अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प’ आयोजना हुने 

मानव जीवनमा ग्रहदोष शान्ति, सुख, समृद्धि तथा सर्वसिद्धिको कामनासहित आयोजना गर्न लागिएको यो अनुष्ठान वैदिक परम्परा र शास्त्रोक्त विधिअनुसार सम्पन्न गरिने व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए । समितिले यसलाई साधारण पूजा वा हवनभन्दा फरक तथा विशेष धार्मिक अनुष्ठानका रूपमा प्रस्तुत गरेको छ। यस अनुष्ठानले भबिष्यमा देशका उत्पन्न हुन सक्ने प्राकृतिक प्रकोपका घटनालाई समेत ग्रह शान्तिका माध्यमबाट न्यूनीकरण हुन सक्ने विश्वास गरिएको छ । 
नेपालकै पहिलो नवग्रह मन्दिरमा ‘अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प’ आयोजना हुने 

स्याङ्जा, भदौं १७ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित प्रसिद्ध नेपालकै पहिलो नवग्रह धाममा इतिहासमै दुर्लभ मानिएको ‘अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प’ महाअनुष्ठान आयोजना हुने भएको छ। भदौ २७, २८ र २९ गते बिहान ६ बजेदेखि नवग्रह धाममा उक्त विशेष धार्मिक तथा आध्यात्मिक अनुष्ठान सञ्चालन हुने नवग्रह मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

मानव जीवनमा ग्रहदोष शान्ति, सुख, समृद्धि तथा सर्वसिद्धिको कामनासहित आयोजना गर्न लागिएको यो अनुष्ठान वैदिक परम्परा र शास्त्रोक्त विधिअनुसार सम्पन्न गरिने व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए । समितिले यसलाई साधारण पूजा वा हवनभन्दा फरक तथा विशेष धार्मिक अनुष्ठानका रूपमा प्रस्तुत गरेको छ। यस अनुष्ठानले भबिष्यमा देशका उत्पन्न हुन सक्ने प्राकृतिक प्रकोपका घटनालाई समेत ग्रह शान्तिका माध्यमबाट न्यूनीकरण हुन सक्ने विश्वास गरिएको छ । 

शनि, मीन, राशि (वक्री) शनि जल तत्त्वको मीन राशिमा वक्री अवस्थामा रहँदा भौतिक पूर्वाधार निर्माणमा ढिलाइ, आर्थिक दबाव र प्राकृतिक प्रकोप (विशेष गरी नदी तथा जलजन्य विपत्ति) को जोखिम बढाउँछ। देशमा लगातार आइपरेका विनाशकारी विपत्ति, बाढी, पहिरो र जनधनको क्षतिबाट मुक्ति पाउन तथा राष्ट्रिय शान्ति एवं सुव्यवस्थाका लागि ग्रह शान्ति, अनुष्ठान र क्षमा पूजा गर्ने धार्मिक शास्त्रीय विधान रहेको छ। 

महाअनुष्ठानमा नवग्रह शान्ति जप, महाहवन, तर्पण, विशेष पूजाअर्चना, नवग्रह वाटिका, नक्षत्र वाटिका तथा १०८ पिपल र राशि वाटिकासहितका धार्मिक एवं आध्यात्मिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। अनुष्ठानमा विभिन्न ग्रहका लागि निर्धारित मन्त्रको जप तथा त्यसपछि विशेष वनस्पति, समिधा, नवधान्य, तिल, जौ, घिउलगायतका सामग्री प्रयोग गरी हवन गरिनेछ। सूर्य, चन्द्र, मंगल, बुध, गुरु, शुक्र, शनि, राहु र केतुका लागि छुट्टाछुट्टै वैदिक विधिबाट जप, तर्पण र आहुति दिने तयारी गरिएको छ।

महाअनुष्ठानको विशेष आकर्षणका रूपमा मध्यरातमा गरिने अघोर पूजा तथा सात्त्विक पञ्चबली विधानलाई समेत आयोजकले उल्लेख गरेको छ। यसमा पशुपन्छीको बलि नदिई कुभिन्डो, नरिवल, कागती, उखु र जायफलजस्ता सामग्री प्रयोग गरिने जनाइएको छ। यो अनुष्ठानलाई वैदिक तथा आध्यात्मिक परम्परासँग जोडिएको विशेष अवसरका रूपमा व्याख्या गर्दै देशभरका भक्तजनलाई सहभागी हुन आह्वान समेत  गरेको छ।

‘ग्रह शान्त भए जीवन शान्त हुन्छ’ भन्ने मूल भावनाका साथ आयोजना गर्न लागिएको महाअनुष्ठानले अर्जुन्चौपारीको नवग्रह धामलाई धार्मिक तथा आध्यात्मिक पर्यटनको थप महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ०७:१० बजे, बुधबार, भदौ १७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्