Kathmandu Press

राहत वितरण र विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

राहत वितरण, उद्धार तथा खोजी र पुनस्र्थापनाको काम निष्पक्ष र प्रभावकारी बनाउन सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि राईले गरे।
राहत वितरण र विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

काठमाडौं, भदाै १५ : नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप गम्भीर भएर काम गर्न आग्रह गरेका छन्।

संसदीय दलको बैठकमा विपद्को अवस्थाबारे छलफल भएको जानकारी दिँदै राईले सामाजिक सञ्जालमा सरकार अत्यन्त सक्रिय रहेको देखिए पनि प्रभावित क्षेत्रको वास्तविक अवस्था फरक रहेको बताएका हुन्।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रभावित क्षेत्रमा पुगेर फर्किएको उल्लेख गर्दै राईले स्थानीय तहका जनप्रतिनिधि, स्थानीयवासी तथा विपद् प्रभावित परिवारसँगको सम्पर्कबाट राहतको वास्तविक आवश्यकता र वितरण अवस्थाबारे जानकारी प्राप्त भएको बताए।

उनका अनुसार आवश्यकता परेका नागरिकले राहत नपाइरहेको अवस्था छ भने कतिपय स्थानमा राहत सामग्री थुप्रिएर बसेको छ। राहत सामग्रीको डिस्प्याच तथा वितरणको संयन्त्र प्रभावकारी हुन नसकेको उनको भनाइ छ।

सरकारले अवलम्बन गरेको एकद्वार प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय हुन नसकेको गुनासो आएको पनि राईले बताए। स्थानीय तहसँग प्रभावित नागरिकको तथ्याङ्क र वास्तविक अवस्थाबारे प्रत्यक्ष जानकारी हुने भएकाले राहत वितरणमा उनीहरूसँग समन्वय आवश्यक रहेको उनले बताए।

हालै सत्तासीन पार्टीका सभापतिले सम्पर्क र सहकार्यका लागि पहल गरेको विषयलाई भने राईले सकारात्मक भन्दै त्यसलाई थप प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए।

राईले विपद् व्यवस्थापनका लागि सरकारसँग तत्काल स्पष्ट र अद्यावधिक तथ्याङ्क आवश्यक रहेको बताए। विपद्अघि रहेको जनसङ्ख्या, हाल सम्पर्कमा रहेका नागरिक, सुरक्षित स्थानमा रहेका व्यक्ति, बेपत्ता, मृतक तथा अज्ञात अवस्थामा रहेका व्यक्तिको यकिन विवरण संकलन गर्नुपर्ने उनको भनाइ छ।

त्यस्ता तथ्याङ्क स्थानीय तह, सुरक्षा निकाय र नागरिक प्रतिनिधिसँग रहेको भन्दै उनले सबै पक्षलाई संयुक्त रूपमा परिचालन गरेर खोज तथा उद्धारको काम अघि बढाउनुपर्ने बताए। विपद् व्यवस्थापनको काम गम्भीर र जटिल रहेको तथा आवश्यक उपकरणको समेत अभाव रहेको उनले उल्लेख गरे।

सरकारले कांग्रेसलाई छलफलका लागि ढिला बोलाएको गुनासो गर्दै राईले विपद्को समयमा संसद् पनि तत्काल सञ्चालन गर्नुपर्ने बताए। नागरिकमा विश्वास कायम गर्न र सरकारको उपस्थितिको अनुभूति दिलाउन सदनमार्फत जवाफदेहिता आवश्यक रहेको उनको भनाइ छ।

राहत वितरण, उद्धार तथा खोजी र पुनस्र्थापनाको काम निष्पक्ष र प्रभावकारी बनाउन सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि राईले गरे। साथै, संसद् सुचारु गरी विपद्सँग सम्बन्धित विषयमा छलफल र समाधानको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए।

प्रकाशित मिति: १६:५२ बजे, सोमबार, भदौ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्