स्थानीय सरकार प्रमुखलाई राजीनामा गर्न विप्लवको धम्की
दैलेख, फागुन २८ : नेत्र बिक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाले दैलेखका स्थानीय सरकार प्रमुखलाई राजीनामा दिन धम्की दिएको छ । नेकपाले सरका....

दैलेख, फागुन २८ : नेत्र बिक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाले दैलेखका स्थानीय सरकार प्रमुखलाई राजीनामा दिन धम्की दिएको छ । नेकपाले सरकारप्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको हो ।
पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढेको दैलेखका स्थानीय सरकार प्रमुखहरुले गुनासो गरेका छन् । उनीहरूले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा चुनौती देखिएका संवेदनशील स्थानमा सुरक्षाबल बढाउन र सुरक्षा निकाय सचेत हुन आग्रह गरे ।
यस्ता फोन र धम्की अहिले दैलेखका ११ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षसम्मलाई आएको दैलेखका स्थानीय सरकार प्रमुखहरुले बताएका छन् ।
दैलेखका स्थानीय सरकारका प्रमुखहरुलाई ढुक्क भएर बस्न आग्रह गर्दै प्रदेश प्रहरी प्रमुख शाहले भने, ‘तपाईहरू जनताबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ, ढुक्क भएर बस्नुहोस्, अराजक गतिविधि गर्ने जोकोहीलाई प्रहरीले विशेष ढङ्गले खोजी गरिरहेको छ ।’ संविधानविपरीत कार्य गर्ने सबैलाई कारवाही गरिने उनको भनाइ थियो ।
संविधानमा लेखिएका कुराविरुद्ध अहिले विप्लव समूह अगाडि बढेको भन्दै शाहले बम विस्फोट, व्यक्ति हत्याजस्ता गतिविधिमा विप्लव समूह सक्रिय रहेको उल्लेख गरे ।
उनले संविधानले निषेध गरेका कुरा गर्ने राजनीतिक समूह नभएर अपाराधिक समूह भएको भन्दै प्रहरीले यस्ता गतिविधिको नियन्त्रण गर्ने र यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरी कारवाही प्रक्रियाका लागि कडा कदम चाल्ने बताए । (रासस)











