भोटेकोशी बाढीले जलविद्युत आयोजनामा ठूलो क्षति, उद्धारलाई पहिलो प्राथमिकता दिन इप्पानको आग्रह
बाढीबाट प्रभावित तथा बेपत्ता नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र जलविद्युत आयोजनामा कार्यरत कामदारको उद्धार कार्य जारी रहेको भन्दै इप्पानले उद्धार तथा राहतमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सामाजिक संघसंस्थाप्रति धन्यवाद व्यक्त गरेको छ ।
काठमाडौं, भदाै १० : भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले दुःख व्यक्त गरेको छ ।
बाढीका कारण मानव बस्ती, जलविद्युत आयोजना, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको इप्पानले जनाएको छ । बाढीबाट प्रभावित तथा बेपत्ता नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र जलविद्युत आयोजनामा कार्यरत कामदारको उद्धार कार्य जारी रहेको भन्दै इप्पानले उद्धार तथा राहतमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सामाजिक संघसंस्थाप्रति धन्यवाद व्यक्त गरेको छ ।
इप्पानका अनुसार प्रारम्भिक विवरणमा त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका र निर्माणाधीन दर्जनौँ जलविद्युत आयोजनामा क्षति पुगेको छ । नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका आयोजनाका बाँध, हेडवक्र्स, पावरहाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्रीलगायत भौतिक संरचनामा गम्भीर क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
प्रारम्भिक विवरणअनुसार रसुवा जिल्लामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना तथा निर्माणाधीन करिब ३४२.४२ मेगावाट क्षमताका तीन आयोजनामा क्षति पुगेको अनुमान गरिएको छ । यस्तै, नुवाकोटमा सञ्चालनमा रहेका करिब १२३ मेगावाट क्षमताका चार आयोजना तथा निर्माणाधीन करिब ५२.६ मेगावाट क्षमताका दुई आयोजनामा समेत क्षति पुगेको इप्पानले जनाएको छ ।
विशेषगरी माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पुगेको क्षतिका कारण भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नपुगेका कतिपय जलविद्युत आयोजना समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएका छन् ।
इप्पानले बाढी प्रभावित क्षेत्रमा फसेका तथा कार्यरत सम्पूर्ण कामदार, कर्मचारी र प्राविधिकको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिन सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन तथा सम्बन्धित सुरक्षा निकायलाई आग्रह गरेको छ ।
त्यसैगरी प्रभावित जलविद्युत आयोजनाका प्रवद्र्धक कम्पनी तथा निजी क्षेत्रका ऊर्जा उद्यमीलाई आफ्ना स्रोत, जनशक्ति, उपकरण तथा साधनसहित उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालन हुन इप्पानले अनुरोध गरेको छ ।
इप्पानले निजी क्षेत्रका छाता संगठन, संघसंस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निर्माण व्यवसायी, ऊर्जा क्षेत्रका कम्पनी तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई समेत बाढी प्रभावित नागरिक र जलविद्युत आयोजनाको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेको छ ।
बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना तथा प्रसारण संरचनाको शीघ्र क्षति मूल्यांकन, पुनर्निर्माण र विद्युत प्रणालीमा पुनःजडानको कामलाई राष्ट्रिय प्राथमिकता दिन सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभागलगायत सम्बन्धित निकायलाई इप्पानले आग्रह गरेको छ ।
क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण, वित्तीय तथा प्राविधिक सहयोग, बीमा दाबी प्रक्रियामा सहजीकरण तथा प्रसारण पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नसमेत इप्पानले माग गरेको छ ।
इप्पानले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको क्षतिको विस्तृत विवरण संकलन तथा अभिलेखीकरण गर्ने जनाएको छ । तत्कालीन उद्धारदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय समुदाय तथा अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको इप्पानको भनाइ छ ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले बेपत्ता नागरिक तथा कामदारको शीघ्र सकुशल उद्धार र घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।











