Kathmandu Press

रोटरी क्लब अफ काठमाडौं हाइटमा विकिपिडिया र विश्वसनीय डिजिटल ज्ञानबारे छलफल

रोटरी क्लब अफ काठमाडौं हाइटको १५३औँ नियमित बैठकपछि शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित हंगर हबमा आयोजित ज्ञान आदानप्रदान कार्यक्रममा सपकोटाले विश्वकोशीय ज्ञानको महत्व, डिजिटल माध्यममा सूचनाको प्रयोग तथा समुदायमा विश्वसनीय ज्ञान विस्तारका विषयमा आफ्ना अनुभव र धारणा प्रस्तुत गरेका हुन्।
रोटरी क्लब अफ काठमाडौं हाइटमा विकिपिडिया र विश्वसनीय डिजिटल ज्ञानबारे छलफल

काठमाडौं, भदौ ९ : विकिपिडिया, विश्वसनीय डिजिटल सूचना र ज्ञानलाई सबैका लागि पहुँचयोग्य बनाउने विषयमा नबिन के. सपकोटाले प्रस्तुति दिएका छन्। 

रोटरी क्लब अफ काठमाडौं हाइटको १५३औँ नियमित बैठकपछि शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित हंगर हबमा आयोजित ज्ञान आदानप्रदान कार्यक्रममा सपकोटाले विश्वकोशीय ज्ञानको महत्व, डिजिटल माध्यममा सूचनाको प्रयोग तथा समुदायमा विश्वसनीय ज्ञान विस्तारका विषयमा आफ्ना अनुभव र धारणा प्रस्तुत गरेका हुन्।

नेपालमा प्रविधि, डिजिटल मिडिया तथा खुला ज्ञानको क्षेत्रमा सक्रिय सपकोटाले विकिपिडियामार्फत ज्ञान निर्माण, संरक्षण र विश्वव्यापी पहुँच विस्तारमा समुदायको भूमिकाबारे प्रकाश पारे। उनले डिजिटल युगमा सूचनाको बढ्दो प्रयोगसँगै विश्वसनीय स्रोत, तथ्यमा आधारित सामग्री र ज्ञान साझेदारीको महत्वसमेत औंल्याए।

विकिमिडियन्स अफ नेपालका कार्यकारी बोर्ड सदस्यसमेत रहेका सपकोटाले विकिपिडियाका विभिन्न परियोजनामा ३० हजारभन्दा बढी योगदान गरेका छन्। उनका योगदानमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदासँग सम्बन्धित तस्बिर तथा सामग्रीसमेत समेटिएका छन्। 

रोटरी क्लब अफ काठमाडौं हाइटका पूर्वअध्यक्ष तथा असिस्टेन्ट गभर्नर सचिन आवालेले ज्ञान आदानप्रदानका कार्यक्रमले रोटरी समुदायमा नयाँ विषय र विचारबारे सिक्ने अवसर सिर्जना गर्ने बताए। उनले प्रविधि र डिजिटल ज्ञानको सही प्रयोगमार्फत समाजमा सकारात्मक प्रभाव विस्तार गर्न सकिने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

कार्यक्रममा रोटा परिवारको सहभागिता रहेको थियो। ज्ञान आदानप्रदानलाई समुदाय निर्माण र सामाजिक सेवासँग जोड्दै कार्यक्रमले डिजिटल ज्ञान तथा सूचनाको जिम्मेवार प्रयोगबारे सहभागीहरूबीच छलफलको अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

रोटरी क्लब अफ काठमाडौं हाइटको १५३औँ नियमित बैठकसँगै आयोजित उक्त ज्ञान आदानप्रदान सत्रले प्रविधि र खुला ज्ञानको माध्यमबाट समाजमा तथ्यमा आधारित सूचना प्रवाह तथा ज्ञानको पहुँच विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिएको थियो।

प्रकाशित मिति: ०९:५३ बजे, मंगलबार, भदौ ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्