पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन
पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन महिनामा दश लाख ३९ हजार रुपियाँ, भदौमा नौ लाख ९७ हजार रुपियाँ, असोजमा ३३ लाख ८२ हजार रुपियाँ भेटी संकलन भएको छ । यस्तै कार्तिक महिनामा ३४ लाख ४८ हजार ५०० रुपियाँ, मङ्सिरमा ७५ लाख ४९ हजार १०० रुपियाँ, पुस महिनामा २४ लाख २५ हजार रुपियाँ संकलन भएको छ ।
ताप्लेजुङ, भदौं ३ : ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी संकलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन महिनामा दश लाख ३९ हजार रुपियाँ, भदौमा नौ लाख ९७ हजार रुपियाँ, असोजमा ३३ लाख ८२ हजार रुपियाँ भेटी संकलन भएको छ । यस्तै कार्तिक महिनामा ३४ लाख ४८ हजार ५०० रुपियाँ, मङ्सिरमा ७५ लाख ४९ हजार १०० रुपियाँ, पुस महिनामा २४ लाख २५ हजार रुपियाँ संकलन भएको छ ।
माघ महिनामा १८ लाख ४७ हजार ५०० रुपियाँ, फागुन ३१ लाख १० हजार रुपियाँ, चैत महिनामा ५८ लाख ४४ हजार ५०० रुपियाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनका अनुसार सबैभन्दा धेरै वैशाख महिनामा एक करोड ६ लाख २८ हजार रुपियाँ भेटी संकलन भएको छ । एकै महिनामा एक करोड बढी भेटी संकलन भएको सम्भवत यो पहिलो रेकर्ड भएको कार्यकारी निर्देशक हाङ्बाङको भनाई छ ।
यस्तै जेठ महिनामा ४६ लाख ६० हजार ६०० रुपियाँ र असार महिनामा ३२ लाख ७२ हजार ६५५ रुपियाँ भेटी संकलन भएको छ । समितिका अनुसार सार एक वर्षमा २५ लाख २ हजार ७८ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।
त्यस्तै चालु आर्थिक वर्षको साउन महिनामा तीन लाख १८ हजार ५०० रुपैयाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । दुई हजार ४६९ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको थियो ।