डिएलए–नेपालको अध्यक्षमा रावलको उम्मेदवारी घोषणा
११ औँ महाधिवेशनमा अध्यक्षकी निकटतम प्रतिष्पर्धी रहेकी रावलले यो पटक फेरि अध्यक्षमा प्रतिष्पर्धा गर्ने पत्रकारहरूसँग बताएकी हुन् । १० औँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भएकी रावल नेपाल बार एसोसिएसनकी पूर्व केन्द्रीय सदस्य पनि हुन् । रावलले ‘अनुभवको नेतृत्व, संस्थाको रूपान्तरण’ भन्ने मुख्य नाराका साथ आफ्नो उम्मेदवारी र १० बुँदे कार्ययोजना सार्वजनिक गरेकी छन् ।
काठमाडौँ, भदौ २ : प्रजातान्त्रिक कानून व्यवसायी संघ (डीएलए–नेपाल) को भदौ १९ र २० गते हुन गइरहेको आगामी १२औँ महाधिवेशनमा अध्यक्षका लागि पूर्वमहासचिव लक्ष्मी दाहाल रावलले उम्मेदवारी घोषणा गरेकी छन् ।
११ औँ महाधिवेशनमा अध्यक्षकी निकटतम प्रतिष्पर्धी रहेकी रावलले यो पटक फेरि अध्यक्षमा प्रतिष्पर्धा गर्ने पत्रकारहरूसँग बताएकी हुन् । १० औँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भएकी रावल नेपाल बार एसोसिएसनकी पूर्व केन्द्रीय सदस्य पनि हुन् । रावलले ‘अनुभवको नेतृत्व, संस्थाको रूपान्तरण’ भन्ने मुख्य नाराका साथ आफ्नो उम्मेदवारी र १० बुँदे कार्ययोजना सार्वजनिक गरेकी छन् ।
डिएलएमा अहिलेसम्म महिला अध्यक्ष नभएकाले नेतृत्वमा महिला पुग्नका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् । रावलले आफ्नो उम्मेदवारी केवल महिला भएकै कारणले मात्र नभई, संस्थाप्रतिको निष्ठा, कार्यसम्पादन क्षमता र स्पष्ट दृष्टिकोणका आधारमा भएको बताउँछिन् । उनी भन्छिन्, ‘म पदको खोजीमा होइन, जिम्मेवारी निर्वाह गर्ने अवसरको खोजीमा आएकी हुँ । मेरो उम्मेदवारी योग्यता, समावेशी नेतृत्व र संस्थागत रूपान्तरणको साझा अभियान हो ।’
रावलले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा डीएलएलाई कुनै पनि किसिमको बाह्य हस्तक्षेप र गुटबन्दीबाट मुक्त राखी विधिको शासनअनुसार सञ्चालन गर्न, स्वतन्त्र न्यायपालिकाको रक्षा, प्रविधिमैत्री डीएलए, सदस्यहरूको क्षमता अभिवृद्धि, र संस्थाको आफ्नै भवन निर्माण रहेका छन् । डिएलए नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरूको संगठन हो ।