नेजस अमेरिकाको सभापतिमा नेम्वाङ, महामन्त्रीमा खनाल र दाहाल
सभापति पदका लागि नेम्वाङसहित पाँच जनाले उम्मेदवारी दिएका थिए । झण्डै चार हजार सदस्य रहेको नेजस अमेरिका नेपाली कांग्रेसको सबैभन्दा ठुलो प्रवास संगठन मानिन्छ । अधिवेशनबाट १२ पदाधिकारी र १६ सदस्यसहित २८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको छ ।
काठमाडौं, भदौं १ : नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति (नेजस) अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित भएका छन् । आइतबार भर्जिनियामा सम्पन्न नेजसको तेस्रो अधिवेशनबाट नेम्वाङ सभापतिमा निर्वाचित भएका हुन् ।
सभापति पदका लागि नेम्वाङसहित पाँच जनाले उम्मेदवारी दिएका थिए । झण्डै चार हजार सदस्य रहेको नेजस अमेरिका नेपाली कांग्रेसको सबैभन्दा ठुलो प्रवास संगठन मानिन्छ । अधिवेशनबाट १२ पदाधिकारी र १६ सदस्यसहित २८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको छ ।
समितिको वरिष्ठ उपसभापतिमा विनोद भट्ट निर्वाचित भए । उपसभापतिहरूमा सञ्जीव श्रेष्ठ, श्रीराम थापा, हरिप्रसाद शर्मा र निमा वाङ्जन निर्वाचित भए । निर्वाचन समितिका अनुसार महामन्त्रीद्वयमा नारायण खनाल र गौतम दाहाल निर्वाचित भए । सहमहामन्त्रीमा अनीता परियार र अर्जुन बम निर्वाचित भए । त्यसैगरी, कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल तथा युवा उपसभापतिमा सुशील खत्री निर्वाचित भए ।
नेजस अमेरिकाको यो अधिवेशन १२ वर्षपछि सम्पन्न भएको हो । समारोहमा अमेरिकाका विभिन्न राज्यबाट आएका करिब ६ सय मतदाता तथा शुभेच्छुकको उपस्थिति रहेको थियो ।