अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वापाको कार्यक्रम
रास्वापाले राजधानी काठमाडौंमा पार्टी सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमा “युवा नेतृत्व, नवप्रवर्तन र सुशासनः नीति निर्माणमा युवाको सहभागिता, संसदसम्म युवा आवाज” विषयक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।
काठमाडौं, साउन २८ : अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न कार्यक्रम गरेकाे छ।
साे अवसरमा सातै प्रदेश र ७७ वटै जिल्लामा स्वच्छता अभियान, रक्तदान कार्यक्रम, नीति संवाद, युवा अन्तरक्रिया तथा विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको थियो।
रास्वापाले राजधानी काठमाडौंमा पार्टी सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमा “युवा नेतृत्व, नवप्रवर्तन र सुशासनः नीति निर्माणमा युवाको सहभागिता, संसदसम्म युवा आवाज” विषयक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा सभापति लामिछानेले वर्तमान समय युवाहरूका लागि ऐतिहासिक अवसर भएको उल्लेख गरे। उनले देशको नेतृत्व र संसदमा युवाको उल्लेखनीय सहभागिता रहेको बताउँदै अब सबैभन्दा ठूलो चुनौती युवाका लागि सम्मानजनक रोजगारी सिर्जना गर्नु भएको धारणा राखे। उनले “हामी विकल्प खोज्न होइन, विकल्प बन्न आएका हौँ” भन्दै युवाहरूलाई निराश नभई सकारात्मक परिवर्तनको नेतृत्व गर्न आग्रह गरे।
कार्यक्रममा नेपाल सरकारका युवा, श्रम तथा रोजगार मन्त्री राम्जी यादवको उपस्थिति रहेको थियो र उनले युवा दिवसको शुभकामना व्यक्त गर्दै नेपाली युवाहरुलाई रोजगारी सृजना गर्ने र सीप तथा क्षमता अभिबृद्धिलाई प्रमुख प्राथमिकता दिएका थिए । कार्यक्रमको दोस्रो सत्रमा आयोजित प्यानल छलफलमा मिस नेपाल दीपमाला ढकाल, नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष आभूषण ज्योति कंसाकार, कृषि उद्यमी सुनिता नेमाफुकी, अन्तर्राष्ट्रिय पदक विजेता आयाशा शाक्य तथा युवा उद्यमी समीर फुयाल सहभागी भएका थिए।
उनीहरूले नेपालमा युवासँग सम्बन्धित नीतिगत चुनौती, सम्भावना, उद्यमशीलता, नवप्रवर्तन तथा अवसरका विषयमा आफ्ना अनुभव र सुझाव प्रस्तुत गर्दै सहभागी सांसद, युवा तथा सरोकारवालाहरूलाई प्रेरित गरेका थिए । छलफलको सहजीकरण माननीय डा। अंकिता ठाकुरले गरेकी थिइन् । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
समापनका अवसरमा वक्ताहरूले विगतदेखि राष्ट्र निर्माणमा युवाहरूले पुर्याएको योगदानको स्मरण गर्दै युवाशक्तिलाई सकारात्मक, सिर्जनात्मक र राष्ट्रहितका कार्यमा परिचालन गर्नुपर्नेमा जोड दिएका थिए । साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा स्वयंसेवकप्रति माननीय कबिन्द्र बुर्लाकोटीले आभार व्यक्त गरेको थियो ।








![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)


