एक वर्षमै ५ लाख बढी भक्तजनले गरे नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक बन परिसरमा पञ्चकन्या मन्दिर परिसरमा रहेको मन्दिर छोटो समयमै जिल्लाको आकर्षणको केन्द्र बनेको हो । मन्दिर निर्माणसँगै आसपासको क्षेत्रमा धार्मिक पर्यटकको आगमन बढेको छ भने स्थानीय व्यापार, होटल, यातायात तथा अन्य व्यवसायमा समेत चहलपहल बढेको छ ।
स्याङ्जा, साउन २६ : निर्माण सम्पन्न भएको एक वर्षमा अर्जुनचौपारीको नवग्रह मन्दिर स्याङ्जाको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ। नेपालकै पहिलो नवग्रह मन्दिरका रूपमा रहेको यस मन्दिरमा एक वर्षको अवधिमा ५ लाखभन्दा बढी स्वदेशी तथा विदेशी भक्तजन तथा पर्यटकले दर्शन तथा अवलोकन गरेका हुन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक बन परिसरमा पञ्चकन्या मन्दिर परिसरमा रहेको मन्दिर छोटो समयमै जिल्लाको आकर्षणको केन्द्र बनेको हो । मन्दिर निर्माणसँगै आसपासको क्षेत्रमा धार्मिक पर्यटकको आगमन बढेको छ भने स्थानीय व्यापार, होटल, यातायात तथा अन्य व्यवसायमा समेत चहलपहल बढेको छ ।
८ हेक्टर क्षेत्रफलमा फैलिएको ऐतिहासिक जलबराह धार्मिक वन क्षेत्रमा निर्माण गरिएको नवग्रह मन्दिर २७।७ फिट अग्लो र नवभुज आकारमा रहेको छ। मन्दिरको मुख्य विशेषता नौवटा ग्रहलाई नौ चक्रमा समेटिनु हो। भक्तजनले ती चक्रको परिक्रमा गर्दै नवग्रहको पूजाआजा गर्न सक्ने व्यवस्था गरिएको छ।
मन्दिरमा विशेषगरी शनिबार भक्तजनको भीड लाग्ने गरेको छ। सार्वजनिक बिदाका दिनसमेत यहाँ ठूलो संख्यामा धार्मिक पर्यटक पुग्ने गरेका छन्। छोटो समयमै ५ लाखभन्दा बढी मानिसले मन्दिरको दर्शन गर्नुले यसको धार्मिक महत्वसँगै पर्यटनको सम्भावनासमेत बलियो देखाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए । मन्दिरमा आउने भक्तजनहरुबाट हालसम्म करिब ३० लाख भेटी संकलन भइसकेको उनले बताए ।
नवग्रह मन्दिरमा बढेको पर्यटक आगमनले अर्जुनचौपारीमा मात्र नभई आसपासका क्षेत्रको आर्थिक गतिविधिसमेत बढाएको छ। होटल, रेस्टुरेन्ट, पसल, यातायात तथा स्थानीय उत्पादनको बिक्रीमा वृद्धि भएको छ। धार्मिक पर्यटनमार्फत स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर विस्तार हुने अपेक्षा गरिएको छ।
पोखराबाट करिब ५२ किलोमिटर दूरीमा रहेको नवग्रह मन्दिरलाई नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले समेत धार्मिक गन्तब्यका रुपमा अगाडी बढाउने योजना बनाएको छ । यसका लागि आवश्यक पूर्वाधार विकास, प्रचारप्रसार र पर्यटकमैत्री सेवा विस्तार गर्न सके नवग्रह मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना देखिएको छ।
एक वर्षमै ५ लाखभन्दा बढी दर्शनार्थीको आगमनले अर्जुनचौपारीको नवग्रह मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई स्याङ्जाको पर्यटन विकास र स्थानीय अर्थतन्त्र चलायमान बनाउने नयाँ आधारका रूपमा समेत स्थापित भएको छ ।
-1786430634.png)




-1786430634.png)





