Kathmandu Press

कांग्रेस, राप्रपा र नयाँ शक्ति भन्छन्: सीके रावतसँगको सहमतिले अन्यौल

काठमाडौं, फागुन २८ : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतसँग सरकारले गरेको सहमतिले अन्यौल सिर्जना गरेको दलहरुले जनाएका छन् । नेपाली कांग्रेस, ....

कांग्रेस, राप्रपा र नयाँ शक्ति भन्छन्: सीके रावतसँगको सहमतिले अन्यौल

काठमाडौं, फागुन २८ : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतसँग सरकारले गरेको सहमतिले अन्यौल सिर्जना गरेको दलहरुले जनाएका छन् । नेपाली कांग्रेस, राप्रपा र नयाँ शक्तिले यसमा ध्यानाकर्षण भएको जनाएका हुन् ।

कांग्रेसले सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ । मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता, सहमति गर्ने छुट नपाउने विज्ञप्तिमा उल्लेख छ ।

‘सहमतिमा प्रयोग गरिएको जनअभिमतको आशय सिके राउत पक्षले स्वतन्त्र मधेस राष्ट्रको लागि जनमतसङ्ग्रह हो भन्ने धारणा व्यक्त गर्दै आएको छ । सहमतिपश्चात् सिके राउतको जनकपुर भ्रमणमा प्रदर्शन गरिएका ब्यानर, प्लेकार्ड तथा लगाइएका नाराले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था सिर्जना भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

सहमतिप्रति दुवै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा त्यस्तो नदेखिएकाले आशङ्का उत्पन्न भएको प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेद्वारा संयुक्तरूपमा जारी विज्ञप्तिमा भनिएको छ । कांग्रेसले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामाथि आँच आउन प्रश्रय दिने सहमति तथा क्रियाकलापप्रति घोर आपत्ति प्रकट गरेको छ ।

त्यस्तै, राप्रपा अध्यक्ष कमल थापाले सिके राउतसँग सरकारले गरेको ११ बुँदे सहमति विरोधाभासपूर्ण, अमूर्त र रहस्यमय रहेको बताएका छन् । राउतले विखण्डनकारी गतिविधिलाई यथावत राखेकाले तत्काल कारबाही गर्न माग गरेका छन् ।

‘सहमतिपछि पटकपटक दोहोर्‍याएर पढ्यौं, तर त्यहाँ विखण्डनको एजेण्डा छोडेको कतै देखिन्न, स्वतन्त्र मधेश गठवन्धन विघटन गरेको पनि देखिन्न,’ मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बुटवल पुगेका थापाले भने । उनले पत्रकारसँग कुराकानी गर्दै भने, ‘राउतको फेसबुक स्ट्याटस् र जनकपुरको प्रदर्शनले पनि सहमति रहस्मय रहेको पुष्टि गरेको छ ।’

सीके राउतका कार्यकर्ताले जनकपुरमा विखण्डको नारा लगाउँदा पनि सरकार मुकदर्शक बनेको उनको भनाइ थियो । ‘विखण्डनकारी माग यथावत् राखिरहँदा पनि सरकार मुकदर्शक देखिएको छ । अब राउतलाई समातेर सरकारले तत्काल कारबाही गरोस्,’ थापाले भने ।

यसैगरी नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताएका छन् । राजविराजमा पत्रकारसँग कुरा गर्दै डा.भट्टराईले  स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताए ।

संविधानअनुसार स्वाधीनता, राष्ट्रिय अखण्डता र जनतामा निहीत सार्वभौमसत्तााई परिवर्तन गर्न नसकिने बताउँदै उनले भने, ‘यसमा जनमत सङ्ग्रह हुन सक्दैन ।’ पूर्वप्रधानमन्त्री डा.भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताए ।

 

प्रकाशित मिति: १०:३६ बजे, मंगलबार, फागुन २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्