सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी
काउन्सिलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार यदि सुनको मूल्य ३,८५७ डलरभन्दा तल झरिरह्यो भने ३,५०० डलरसम्म पुग्न सक्ने सम्भावना छ ।
काठमाडौं, साउन १९ : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा थप गिरावट आउन सक्ने संकेत देखिएको छ। वर्ल्ड गोल्ड काउन्सिलले सुनको मूल्य प्रतिऔंस ३,८५७ अमेरिकी डलरभन्दा तल झरेमा अर्को प्रमुख समर्थन बिन्दु ३,५०० डलरमा रहने जनाएको छ।
काउन्सिलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार यदि सुनको मूल्य ३,८५७ डलरभन्दा तल झरिरह्यो भने ३,५०० डलरसम्म पुग्न सक्ने सम्भावना छ । यो स्तर जनवरी महिनामा बनेको उच्च मूल्यबाट करिब ३७ प्रतिशतको गिरावट हुने काउन्सिलको विश्लेषण छ। यस्तो गिरावट अघिल्ला प्रमुख मन्दी अवधिहरूसँग मेल खाने भएकाले ३,५०० डलरको स्तरलाई महत्वपूर्ण आधार बिन्दुका रूपमा हेरिएको छ।
हाल अन्र्तरािष्ट्रय बजारमा सुन प्रतिऔंस करिब ४,०६३.८० डलरमा कारोबार भइरहेको छ। लन्डन बुलियन मार्केट एसोसिएसन ९एलबीएमए० को गोल्ड प्राइस पीएम सूचक गत साता १ प्रतिशतले घटेर प्रतिऔंस ४,०२७ डलरमा पुगेको छ। यससँगै चालु वर्षको सुरुदेखि सुनको मूल्यमा ७।८ प्रतिशत गिरावट आइसकेको छ।
प्रतिवेदनअनुसार अमेरिकी फेडरल रिजर्भले ब्याजदर यथावत् राख्ने निर्णय गरेपछि ब्याजदर सम्बन्धी अपेक्षामा आएको परिवर्तनले सुनको मूल्यमा दबाब सिर्जना गरेको छ। साथै अमेरिका–इरान तनावसँग सम्बन्धित घटनाक्रमका कारण तेलको मूल्य र मुद्रास्फीतिसम्बन्धी चिन्ता पनि लगानीकर्ताको निगरानीमा रहेको छ।
बजारको नयाँ मूल्याङ्कनसँगै गोल्ड ईटीएफमा हुने लगानी प्रवाह सुस्त बनेको छ भने कमेक्समा सुनसम्बन्धी नेट लङ पोजिसन पनि घटेको काउन्सिलले जनाएको छ। यद्यपि विकल्प कारोबार गर्ने लगानीकर्ताले केही हदसम्म नकारात्मक पोजिसन घटाएका छन, जसको एक कारण सम्झौताहरूको अवधि समाप्त हुनु पनि रहेको प्रतिवेदनमा उल्लेख छ।
काउन्सिलका अनुसार पछिल्लो एक महिनादेखि सुनको मूल्य सीमित दायराभित्र उतारचढाव गरिरहेको भए पनि मार्चको सुरुदेखिको ओरालो प्रवृत्तिभन्दा माथि जान सकेको छैन। प्रतिऔंस ३,९४३ डलरभन्दा तल झरेमा मूल्य थप घट्ने संकेत देखिने र त्यसपछि ३,८५७ देखि ३,८८७ डलरको दायरा महत्वपूर्ण प्राविधिक समर्थन क्षेत्र बन्ने उल्लेख गरिएको छ।
यसैबीच, जापानी येनको मजबुतीले सुनलाई केही राहत दिन सक्ने विश्लेषण गरिएको छ। अमेरिका र जापानले संयुक्त रूपमा मुद्रा बजारमा हस्तक्षेप गरेपछि येन बलियो बनेको छ । काउन्सिलका अनुसार यदि बलियो येन र कमजोर अमेरिकी डलरको प्रवृत्ति कायम रह्यो भने त्यसले सुनको मूल्यलाई समर्थन गर्न सक्छ।
आगामी दिनमा अमेरिकी फेडरल रिजर्भको मौद्रिक नीतिसम्बन्धी अपेक्षाले सुनको मूल्य निर्धारणमा मुख्य भूमिका खेल्ने काउन्सिलको भनाइ छ । जुलाई महिनाको उत्पादन तथा सेवा क्षेत्रका सूचकांक बलिया देखिएमा फेडले कडा नीति अपनाउने अपेक्षा थप बलियो हुन सक्छ।
तर रोजगारी वृद्धिदर अपेक्षाकृत कमजोर रहने अनुमान गरिएको छ। साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ वार्ताको घोषणा गरेपछि अमेरिका–इरान तनाव केही कम हुन सक्ने र यसले थप ब्याजदर वृद्धिको चिन्ता घटाउन मद्दत पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।











