Kathmandu Press

बाघको सङ्ख्या बढेर ४२९ पुग्यो; पर्सा र बाँकेमा उत्साहजनक वृद्धि, बर्दियामा घट्यो

विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्ज बाघको सबैभन्दा ठुलो बासस्थानका रूपमा कायमै छ। चितवनमा बाघको सङ्ख्या १२८ बाट बढेर १४५ पुगेको छ।
बाघको सङ्ख्या बढेर ४२९ पुग्यो; पर्सा र बाँकेमा उत्साहजनक वृद्धि, बर्दियामा घट्यो

काठमाडौं, साउन १२ : नेपालमा बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भई ४२९ पुगेको छ। विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजा सार्वजनिक गर्दै बाघको सङ्ख्या अघिल्लो गणनाको तुलनामा ७४ ले बढेको जानकारी दिएको हो।

यसअघि सन् २०२२ (वि.सं. २०७८) मा गरिएको गणनामा नेपालमा बाघको कूल सङ्ख्या ३५५ रहेको थियो। विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्ज बाघको सबैभन्दा ठुलो बासस्थानका रूपमा कायमै छ। चितवनमा बाघको सङ्ख्या १२८ बाट बढेर १४५ पुगेको छ।

त्यस्तै, पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा ठुलो सुधार आएको छ, जहाँ ४१ बाट बढेर ७१ पुगेको छ। बाँके राष्ट्रिय निकुञ्जमा २५ बाट बढेर ५१, र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ बाट बढेर ५० वटा बाघ पुगेका छन् । तर, बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको सङ्ख्यामा गिरावट देखिएको छ। अघिल्लो गणनामा १२५ रहेको बर्दियामा यसपटक १३ वटाले घटेर ११२ मा खुम्चिएको छ।

तथ्याङ्क अनुसार नेपालमा बाघको सङ्ख्या बढे पनि वृद्धिदरमा भने केही कमी आएको छ । सन् २०७४ को गणनामा २३५ बाघ रहेकोमा २०७९ मा १२० वटा (करिब ५१ प्रतिशत) थपिएका थिए। तर, यसपटकको गणनामा वृद्धिको अनुपात अघिल्लोपटकको तुलनामा कम अर्थात् २१ प्रतिशत मात्र रहेको विभागको प्रतिवेदनले देखाउँछ । यसपटकको सर्वेक्षणमा अत्याधुनिक ’क्यामरा ट्रयापिङ’ प्रविधिबाट ३७३ वटा छुट्टाछुट्टै बाघको पहिचान गरिएको थियो, जसका आधारमा वैज्ञानिक विधि (क्भ्ऋच्) प्रयोग गरी कूल अनुमानित सङ्ख्या ४२९ निकालिएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालका अनुसार बाघको सङ्ख्या बढ्नु संरक्षणको क्षेत्रमा ठुलो उपलब्धि हो । तर, सङ्ख्या वृद्धिसँगै मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण, वासस्थानको गुणस्तर सुधार र बाघको आहारा प्रजातिको संरक्षण अबको मुख्य चुनौती बनेको छ । विभागले आगामी दिनमा ’शून्य मानव क्षति’को अवधारणालाई आत्मसाथ गर्दै बाघको आनीबानी र व्यवस्थापनमा थप केन्द्रित हुने योजना बनाएको छ।

प्रकाशित मिति: १३:४२ बजे, बुधबार, साउन १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्