नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा
नेपालको कुल निर्यातमा भटमासको तेलले मात्रै करिब ४० प्रतिशत योगदान पुर्याएको छ, जसले यस क्षेत्रलाई देशको प्रमुख निर्यातजन्य वस्तुको रूपमा स्थापित गरेको छ।
काठमाडौं, साउन १२ : नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२÷८३ मा नेपालबाट १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ।
नेपालको कुल निर्यातमा भटमासको तेलले मात्रै करिब ४० प्रतिशत योगदान पुर्याएको छ, जसले यस क्षेत्रलाई देशको प्रमुख निर्यातजन्य वस्तुको रूपमा स्थापित गरेको छ।
तथ्याङ्क अनुसार, नेपालले कुल ५ लाख ९३ हजार ८ सय २३ मेट्रिक टन भटमासको तेल निर्यात गरेको छ। नेपालमा प्रशोधन गरिएको यो तेल मुख्य रूपमा भारतीय बजारमा निर्यात हुने गरेको छ। तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी नेपालमा प्रशोधन गरेर पुनः निर्यात गरिने यो व्यवसायले नेपालको विदेशी मुद्रा आर्जनमा ठूलो सहयोग पु¥याउँदै आएको छ।
विगतका केही आर्थिक वर्षहरूको तथ्याङ्कलाई हेर्ने हो भने भटमासको तेलको निर्यातमा ठूलो उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०७५/७६ मा जम्मा २ अर्ब ३४ करोड रुपैयाँको निर्यात भएकोमा, आर्थिक वर्ष २०७७/७८ मा यो ह्वात्तै बढेर ५३ अर्ब ६५ करोड रुपैयाँ पुगेको थियो।
त्यसपछिका वर्षहरूमा भारतको आयात नीतिमा आएको परिवर्तनका कारण निर्यातमा केही गिरावट आए तापनि पछिल्लो समय पुनः सुधारको संकेत देखिएको छ।











