Kathmandu Press

बागमती नगर जग्गा एकीकरण आयोजनालाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

बैठकमा डंगोलले आयोजना पटक–पटक म्याद थप्नेभन्दा बाँकी काम सम्पन्न गरेर जग्गा सम्बन्धित धनीलाई फिर्ता गर्ने प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले प्रतिवेदनमा कानुनी, प्रशासनिक र प्राविधिक पक्षसमेत समेट्न निर्देशन दिइन्।
बागमती नगर जग्गा एकीकरण आयोजनालाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौं, साउन ९ : काठमाडौं महानगरपालिकाले बागमती नगर जग्गा एकीकरण आयोजनालाई सम्पन्न भएका काम, तिनको प्रभाव तथा बाँकी दायित्वसम्बन्धी लाभ–लागत र प्रभाव प्रतिवेदन ४५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको आयोजना व्यवस्थापन उपसमितिको ३३औँ बैठकले अधुरा पूर्वाधार र सेवा प्रवाहका कारण स्थानीयवासीले समस्या भोगिरहेको निष्कर्ष निकाल्दै तथ्यमा आधारित प्रतिवेदन तयार गरी बाँकी काम शीघ्र सम्पन्न गर्ने निर्णय गरेको हो।

बैठकमा डंगोलले आयोजना पटक–पटक म्याद थप्नेभन्दा बाँकी काम सम्पन्न गरेर जग्गा सम्बन्धित धनीलाई फिर्ता गर्ने प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले प्रतिवेदनमा कानुनी, प्रशासनिक र प्राविधिक पक्षसमेत समेट्न निर्देशन दिइन्।

बैठकमा वडा नं. ६ र ८ का जनप्रतिनिधि तथा जग्गाधनी प्रतिनिधिहरूले खानेपानी, ढल, सडकलगायत आधारभूत पूर्वाधार अझै अधुरा रहेको र आयोजना ढिलो हुँदा स्थानीयवासी मर्कामा परेको गुनासो गरेका थिए।

आयोजनाले हालसम्म वडा नं. ६ मा ९१.८२ प्रतिशत र वडा नं. ८ मा ९५.२ प्रतिशत विकसित घडेरीको स्थायी पुर्जा वितरण गरिसकेको जनाएको छ। साथै अधिकांश सडक ढलान, ढल निर्माण, सडक बत्ती जडान तथा खानेपानी पाइप विस्तारको काम सम्पन्न भएको जानकारी दिइएको छ।

बैठकले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत गर्दै अधुरा निर्माण कार्यलाई तीव्रता दिने र आयोजना व्यवस्थित रूपमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: १३:२२ बजे, शनिबार, साउन ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्